वीरगञ्ज — साउथ सिटी हिमाल हस्पिटलले केही स्थानीय सञ्चार माध्यमले आफू र त्यहाँ कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रीति यादवको नाम असंबन्धित घटनामा जोडेर भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै कडा आपत्ति जनाएको छ।
अस्पतालले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ कि, श्रीराम अस्पतालमा घटेको भनिएको घटनासँग साउथ सिटी हिमाल हस्पिटल वा डा. यादवको कुनै पनि सम्बन्ध छैन। तर केही सञ्चार माध्यमहरूले बिना प्रमाण अस्पताल र चिकित्सकको नाम उल्लेख गरी गलत सूचना फैलाएको जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, “यस्ता आधारहीन समाचारहरूले अस्पतालको प्रतिष्ठा र चिकित्सकको मनोबलमा गम्भीर असर परेको छ। भविष्यमा यस्ता गैरजिम्मेवार कार्य दोहोरिए कानुनी कारबाही गरिनेछ।”
अस्पतालले आफ्नो सेवा नेपाल सरकारको मापदण्डअनुसार सञ्चालन हुँदै आएको र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता निरन्तर रहेको स्पष्ट पारेको छ। साथै, विगतमा पनि केही सञ्चार माध्यमहरूले कपोलकल्पित समाचार प्रकाशित गरेर अस्पतालको छवि धूमिल गर्न खोजेको भन्दै यस्ता गलत अभ्यास रोक्न आग्रह गरिएको छ।
“सञ्चार माध्यम समाजको ऐना हुन्, त्यसैले समाचार प्रकाशन अघि सत्यता पुष्टि गरी निष्पक्ष जानकारी दिनु उनीहरूको जिम्मेवारी हो,” विज्ञप्तिमा भनिएको छ।
अन्त्यमा, अस्पतालले नाममा समानता भएको कारण वा अनुमानका भरमा प्रतिष्ठा हानि पुर्याउने प्रयास नगर्न आग्रह गर्दै, आवश्यक परेमा थप जानकारीका लागि प्रत्यक्ष सम्पर्क गर्न अपिल गरेको छ।




