राजस्थानको जोधपुरमा सडक दुर्घटना १५ जनाको मृत्यु

spot_img

काठमाडौँ, १७ कात्तिक । भारतको राजस्थान राज्यस्थित जोधपुर जिल्लामा आइतबार साँझ भएको सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य धेरै घाइते भएका छन्, जसमा केहीको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

दुर्घटना जोधपुरको फलोदी क्षेत्रअन्तर्गत मातोडा पुलिस थाना क्षेत्रको भारत माला हाइवे मा भएको हो। प्रहरीका अनुसार सडक किनारमा रोकिएको एउटा ट्रेलरमा यात्रु बोकेको टेम्पो ट्राभलर ठोक्किँदा दुर्घटना भएको हो।

टेम्पो ट्राभलरमा सवार सबै व्यक्ति जोधपुरको सूरसागर क्षेत्रका बासिन्दा रहेको बताइएको छ। उनीहरू कोलायतस्थित आश्रममा दर्शन गरेर फर्किने क्रममा दुर्घटनामा परेका थिए।

दुर्घटनापछि स्थानीय प्रशासन, प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेका थिए। घाइतेहरूलाई उद्धार गरी तत्कालै नजिकैको अस्पतालमा पुर्‍याइएको र गम्भीर घाइतेलाई जोधपुर रेफर गरिएको प्रहरीले जनाएको छ।

राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा लेखेका छन्, “फलोदीको मातोडा क्षेत्रमा भएको सडक दुर्घटनामा जनधनको क्षति अत्यन्त दुःखद र हृदयविदारक छ। शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।”

त्यसैगरी, पूर्वमुख्यमन्त्री अशोक गहलोतले पनि दुर्घटनाप्रति दुःख प्रकट गर्दै मृत आत्माहरूको चीरशान्तिको कामना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गरेका छन्।

स्थानीय प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुमानअनुसार अन्धकारमा सडक किनारमा ट्रेलर रोकिएको र टेम्पो ट्राभलरका चालकले समयमा देख्न नसक्दा दुर्घटना भएको हुनसक्ने बताइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय