काठमाडौं,२० वैशाख । पुनम यादवले सक्रिय दलीय राजनीतिबाट अलग हुने घोषणा गरेकी छन्। लामो समयदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय रहेकी यादवले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै आफू अब स्वतन्त्र रूपमा काम गर्ने बताएकी हुन्।
उनले नेपाल कम्युनिस्ट पार्टीमा एक दशकभन्दा बढी समय इमानदारीपूर्वक काम गरेको उल्लेख गर्दै विभिन्न कारणले राजनीतिक यात्रालाई यही चरणमा टुंग्याउने निर्णय गरेको जनाएकी छन्। यादवले अब कुनै पनि राजनीतिक दल वा समूहसँग आबद्ध नभई स्वतन्त्र हैसियतमा सामाजिक र सार्वजनिक क्षेत्रमा सक्रिय रहने बताइन्।
उनले आफ्नो राजनीतिक यात्रामा साथ, समर्थन र हौसला दिने सबैप्रति धन्यवादसमेत व्यक्त गरेकी छन्।
यादव गत प्रतिनिधिसभा निर्वाचनमा रौतहट–३ बाट उम्मेदवार बनेकी थिइन्। नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन सक्रिय भूमिका खेलेकी उनी भारतीय धार्मिक गुरु तथा बलिउड कलाकारहरूसँगको सम्बन्धका कारण पनि चर्चामा रहँदै आएकी थिइन्।
उनले आफ्नो निर्णयको विस्तृत कारण भने सार्वजनिक गरेकी छैनन्।

