काठमाडौँ,१७ कातिक । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको मुख्य गेटमा आइतबार ४० वर्ष मुनिका युवा कार्यकर्ताहरूले तालाबन्दी गर्दै पार्टी पदाधिकारीको तत्काल राजीनामा माग गरेका छन्।
युवाहरूको प्रमुख माग कार्यवाहक सभापति र महामन्त्री गगन थापाले नियमित महाधिवेशनको वातावरण निर्माण गर्न नसक्ने अवस्था हुँदा नैतिकताका आधारमा राजीनामा दिनुपर्ने रहेको छ। युवा नेता शिव रिमालले भने, “मङ्सिरमा नियमित महाधिवेशनको वातावरण निर्माण गर्न नसक्ने पदाधिकारी र क्रियाशील सदस्यता वितरण तथा नवीकरणमा जिम्मेवारी पूरा नगर्ने महामन्त्रीले राजीनामा दिनुपर्ने हाम्रो माग छ। यो माग पूरा नहुँदासम्म तालाबन्दी खुल्दैन।”
साथै, उनीहरूले १५ औँ महाधिवेशनको कार्यतालिका तत्काल सार्वजनिक गर्न, ४० वर्ष मुनिका युवाहरूको पार्टी निकायमा ४० प्रतिशत सहभागिता सुनिश्चित गर्न, र क्रियाशील सदस्यता वितरण तथा नवीकरणको प्रगति विवरण पार्टीको वेबसाइटमा सार्वजनिक गर्नुपर्ने पनि माग राखेका छन्।



