काठमाडाैं,२६ कातिक । लन्डनमा अध्ययनरत एक नेपाली विद्यार्थी योमन चन्द मंगलबार बिहान सुतेकै अवस्थामा मृत फेला परेका छन्। सल्यान भल्चौर–७ निवासी २६ वर्षीय चन्द एक वर्षअघि मात्रै उच्च शिक्षाका लागि बेलायत आएका थिए।
उनी युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएस्सी कम्युनिकेसन्स् एण्ड इन्फर्मेसन इन्जिनियरिङ अध्ययनरत थिए र भोलिपल्टै स्नातक प्रमाणपत्र लिन तयार थिए। उनैसँग एउटै कोठामा बस्ने साथी मनोज कुँवरका अनुसार, सोमबार बिहान चन्दले टाउको दुखेको र वान्ता भएको बताएका थिए। उनीहरू त्यसपछि दिउँसो सेन्ट्रल लन्डन गएर नेपाली रेष्टुरेन्टमा खाना खाएर राति घर फर्किएका थिए।
“राति १ः३० बजेतिर हामी दुबै सुत्यौं। बिहान अलार्म बज्दा ऊ उठेन,” मनोजले भने, “मलाई लाग्यो ढिलो उठेको होला, हात छोएँ— चिसो भइसकेको थियो।” उनले तुरुन्त एम्बुलेन्स बोलाएका थिए र स्वास्थ्यकर्मीको निर्देशनमा सीपीआर पनि गरेका थिए। तर, जब स्वास्थ्यकर्मी आइपुगे, चन्दको सुगर लेभल २ मात्र देखिएको थियो। उपचारका क्रममा बिहान ९ः३० बजे उनलाई मृत घोषणा गरिएको हो।
पुलिस र फरेन्सिक टिमले घटनास्थलको अनुसन्धान गरेर यो घटनालाई ‘नेचुरल डेथ’ (प्राकृतिक मृत्यु) भन्दै पोस्टमार्टमका लागि शव अस्पताल पठाइएको जनाएको छ।
असामयिक निधनपछि साथी मनोज कुँवर स्तब्ध छन्। “ऊ स्वस्थ थियो, कुनै रोग थिएन, न त डिप्रेसनमा थियो। काम पनि राम्रो पाएको थियो— भिलेज होटलमा,” उनले दुःख व्यक्त गर्दै भने, “हेर्दाहेर्दै साथी गुमाएँ, अझै पनि विश्वास गर्न सकिरहेको छैन।”
एनआरएनए यूकेको सहयोग र पहल घटनास्थल पुगेका एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले स्वर्गीय चन्दको परिवार, विश्वविद्यालय र साथीहरूसँग सल्लाह गरी अन्त्येष्टीको व्यवस्था गर्ने बताए।
उनले भने, “हामी परिवारलाई आर्थिक र नैतिक सहयोग गर्नेछौं। साथै, बेलायतमा रहेका नेपाली विद्यार्थीहरूले भोगिरहेका बसाइँ, जागिर, मानसिक स्वास्थ्य र सुरक्षासम्बन्धी समस्याबारे जनचेतना फैलाउने काममा अझ सक्रिय हुनेछौं।”



