काठमाडाैं,२८ कातिक । बंगलादेशमा आगामी फेब्रुअरीमा हुने आमनिर्वाचन नजिकिँदै जाँदा देशभर अस्थिरता बढ्दै गएको छ। पछिल्लो केही दिनयता तोडफोड, बम विस्फोट र आगजनीका घटना श्रृंखलाबद्ध रूपमा बढेपछि राजनीतिक तापक्रम झन् चुलिएको छ।
बिहीबार दिउँसो पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगको केन्द्रीय कार्यालयमै एक समूह प्रवेश गरी ब्यानरहरू जलाएको घटना सबैभन्दा चर्चामा रह्यो। समूहले कार्यालयभित्र नाराबाजी गर्दै आगजनी गरेको बंगलादेशी दैनिक द डेली स्टारले जनाएको छ। उही दिन भएको अर्को घटनामा राजशाही मेट्रोपोलिटन सेसनका न्यायाधीश अब्दुर रहमानका छोराको छुरा प्रहारमा मृत्यु भएको छ भने उनकी पत्नी गम्भीर घाइते भएकी छन्।
यसैबीच, अवामी लिगले बिहीबार ढाका बन्दको घोषणा गर्दै आइतबारसम्म देशव्यापी विरोध कार्यक्रम अघि सारेको छ। तर राजनीतिक गतिविधिमा सरकारले नै रोक लगाइदिएका कारण पार्टीको प्रदर्शनलाई अन्य दल र सरकार समर्थक समूहहरूले प्रतिवाद गर्ने चेतावनी दिइरहेका छन्। चुनावअघि नै राजनीतिक द्वन्द्व दोहोरो धारमा बिग्रँदै गएको संकेत देखिन्छ।
हसिनामाथि १७ नोभेम्बरमा फैसला
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध ट्राइबुनल–१ (ICT–1) ले अपदस्थ प्रधानमन्त्री शेख हसिना र उनका दुई निकट सहयोगीको मुद्दामा १७ नोभेम्बरमा फैसला सुनाउने भएको छ। गत जुलाई–अगस्ट २०२४ मा चलेका सरकारविरोधी आन्दोलन दमनका क्रममा मानवताविरुद्ध अपराध गरेको आरोपमा उनीहरूमाथि मुद्दा चलाइएको हो। त्रासदीपूर्ण आन्दोलनमा प्रहरीले गोली चलाउँदा करिब ६५० जनाको मृत्यु भएको र त्यसपछि हसिना ५ अगस्टमा देश छाडेर भागेकी थिइन्।
हसिना देश छाडेपछि नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो। यसयता हसिनाविरुद्ध हत्या योजना, हत्या प्रयास, यातना र अन्य अमानवीय कार्यका आरोपमा छानबिन चलिरहेको छ। देशभर क्रुड बम विस्फोट, बस तथा भवनमा आगजनीका घटना बढेपछि प्रहरीले प्रहरीले दर्जनौँ शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ। सेनादेखि र्यापिड एक्सन बटालियन र सीमा सुरक्षा बलसम्म परिचालन गरिएको छ। बिहीबार कडा सुरक्षा व्यवस्थाका कारण ढाकामा ट्राफिक चलायमानता निकै कम देखियो।
गत डेढ महिनामा मात्रै प्रदर्शन भड्काउने आशंकामा ५५२ जना पक्राउ परेका छन्। पछिल्लो आइतबार र सोमबार मात्र १७ ठाउँमा बम फालिएको र ९ वटा गाडीमा आगजनी गरिएको द डेली स्टारले जनाएको छ। मिरपुरस्थित ग्रामीण विकास बैंकदेखि राजधानीका अस्पताल र बजारसम्म सोमबार बम प्रहारका घटनाहरू भएका छन्, जसले चुनावभन्दा अगाडि राजनीतिक वातावरण थप अस्थिर बनाएको छ।

