राैतहट,२३ माघ । रौतहटमा चार वर्षीया बालिकाको ज्यान जाने गरी भएको सवारी दुर्घटनाका आरोपित कार चालकविरुद्ध अदालतले पाँच दिनको म्याद थप गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बा १५ च ४२४४ नम्बरको कार चलाएका परोहा नगरपालिका–३ का २७ वर्षीय शेख मुस्ताखलाई हिरासतमा राखी थप अनुसन्धान गर्न अदालतले पाँच दिनको अनुमति दिएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार बिहीबार दिउँसो करिब २ बजेतिर इशनाथ नगरपालिका–३ मठिया टोलमा मुस्ताखले चलाएको कारले चार वर्षीया अल्फा खातुनलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएकी बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा उक्त कार राष्ट्रिय स्वतन्त्र पार्टीका रौतहट निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार शेख सगिरको नाममा दर्ता रहेको पाइएको छ। दुर्घटना चुनावी प्रचारका क्रममा भएको भए पनि कारमा उम्मेदवार सगिर भने सवार नरहेको प्रहरीले स्पष्ट पारेको छ।
घटनाको विषयमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

