काठमाडौँ,०१ मंसिर । साउदी अरबमा सोमबार बिहान भएको भीषण बस दुर्घटनामा ४२ जना भारतीय तीर्थयात्रीको मृत्यु भएको छ। मक्का–मदिनाको मार्गमा यात्रारत बस डिजेल ट्यांकरसँग ठोक्किँदा आगलागी भई ठूलो मानवीय क्षति पुगेको साउदी सञ्चारमाध्यमहरूले जनाएका छन्।
दुर्घटनामा ज्यान गुमाउनेहरू मध्ये २० महिला र ११ बालबालिका रहेको पुष्टि गरिएको छ। अधिकांश यात्रु भारतको हैदरावाद क्षेत्रबाट उमराहका लागि साउदी अरब पुगेका थिए।
घटना मदिनाबाट करिब १६० किलोमिटर टाढा मुहरास नजिक भारतीय समयानुसार राति १:३० बजे भएको बताइएको छ। रातिको समय भएकाले बसका धेरै यात्रु निद्रा अवस्थामा थिए र ठोक्किन केही क्षणमै बसभरि आगो सल्किएपछि उनीहरू जोगिन नसकेका प्रारम्भिक विवरणमा उल्लेख छ।
दुर्घटनापछि तेलंगाना सरकारले गहिरो दुःख प्रकट गर्दै रियादस्थित भारतीय दूतावाससँग लगातार समन्वय गरिरहेको जनाएको छ। मुख्यमन्त्री रेवन्त रेड्डीले नयाँ दिल्लीका अधिकारीहरूलाई दूतावाससँग मिलेर पीडितहरूको पहिचान, कानुनी प्रक्रिया र आवश्यक सहयोग तत्क्षण सुरु गर्न निर्देशन दिएका छन्।
यो दुर्घटना हालैका वर्षहरूमा साउदी अरबमा तीर्थयात्री सम्वन्धी देखिएका सबैभन्दा गम्भीर दुर्घटनामध्ये एक मानिएको छ।

