काठमाडौं,०३ मंसिर । भारतको बिहार राज्य फेरि एकपटक नितिशकुमारकै हातमा जाने भएको छ। राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले बुधबार बसेको बैठकमार्फत ७५ वर्षीय कुमारलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्दै मुख्यमन्त्री बनाउने निर्णय गरेको हो।
बैठक सकिएलगत्तै नितिशकुमार राजभवन पुगेर राज्यपालसमक्ष सरकार गठनको दाबी पेश गरिरहेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यससँगै उनी अब १०औँ पटक बिहारको मुख्यमन्त्री बन्नेछन्।
नयाँ सरकारको शपथग्रहण बिहीबार बिहान ११:३० बजे पटनाको ऐतिहासिक गान्धी मैदानमा तय गरिएको छ। समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाहसहित विभिन्न राज्यका मुख्यमन्त्री र केन्द्रीय मन्त्रीहरूको सहभागिता रहनेछ।
यसअघि जेडीयूको छुट्टै बैठकले पनि नितिशकुमारलाई आफ्ना संसदीय दलको नेता बनाइसकेको थियो। यद्यपि गठबन्धनकै अर्को ठूला घटक भारतीय जनता पार्टी (भाजपा) ले भने सम्राट चौधरीलाई नेता र विजय सिन्हालाई उपनेता नियुक्त गरेको थियो। अन्ततः एनडीएको संयुक्त बैठकले मुख्यमन्त्रीका लागि नितिशकै नाममा सहमति कायम गर्यो।
हालै सम्पन्न बिहार विधानसभा निर्वाचनमा २४३ मध्ये २०२ सिट जितेर एनडीए गठबन्धनले सहज बहुमत ल्याएको थियो। घोषणाअनुसार भाजपा ८९ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ भने जेडीयूले ८५ सिट जितेको छ। लोक जनशक्ति (राम विलास) १९ सिटसहित चौथो दलका रूपमा उदायो। हिन्दुस्तानी अवम मोर्चाले पाँच र आरएलएमले चार सिट हासिल गरे।
कांग्रेस–आई र राजद (आरजेडी) सम्मिलित महागठबन्धनले भने जम्मा ३५ सिटमै सिमित रह्यो।



