spot_img

सुत्केरीभन्दा गर्भपतन बढी: किशोरीमा बढ्दो जोखिमका कारण चिन्ता

spot_img
spot_img

काठमाडौ,०८ मंसिर । म्याग्दीको प्रादेशिक अस्पताल बेनीमा प्रसूति सेवाभन्दा गर्भपतन सेवा लिने महिलाको सङ्ख्या लगातार बढ्दै गएको छ। विशेषगरी २० वर्षभन्दा कम उमेरका किशोरीमा गर्भवती हुने र गर्भपतन गराउने दर उच्च देखिनु चिन्ताको विषय बनेको छ।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि कात्तिकसम्म अस्पतालमा १७७ जना महिलाले सुत्केरी सेवा लिए पनि १९१ जनाले सुरक्षित गर्भपतन सेवा उपयोग गरेका छन्। तीमध्ये आठ जना किशोरीले गर्भपतन गरे भने ३१ जना किशोरीले सुत्केरी सेवा लिए।

गत वर्ष २०८०/८१ मा पनि १ हजार ३८४ मध्ये १९० जना २० वर्षभन्दा कम उमेरका थिए। अघिल्लो वर्ष २०७९/८० मा यस समूहका संख्या १ सय ६५ रहेको तथ्याङ्कले कम उमेरमा गर्भधारणको समस्या घट्नुको साटो बढ्दो रहेको देखाउँछ।

अस्पतालका प्रमुख डा. रविरञ्जन प्रधानका अनुसार सुरक्षित गर्भपतन सेवा विस्तार हुनु सकारात्मक भए पनि किशोरीले पटक–पटक गर्भधारण र गर्भपतन गर्नु गम्भीर स्वास्थ्य जोखिम हो। “२० वर्ष मुनिका किशोरी शारीरिक तथा मानसिक रूपमा पूर्ण परिपक्व हुँदैनन्,” उनले भने।

सरोकारवालाहरूका अनुसार बालविवाह, मेलाजात्रामा हुने असुरक्षित यौन सम्पर्क, तथा प्रजनन स्वास्थ्यप्रति अपर्याप्त चेतनाका कारण किशोरीहरू अल्पउमेरमै आमाबाबु बन्न वा गर्भपतन गराउन बाध्य भइरहेका छन्। सामाजिक विकास कार्यालयका प्रमुख तारानाथ सुवेदीले बालविवाह नियन्त्रण गर्न तीनै तहका सरकारले आक्रामक पहल गर्नुपर्ने बताए।

म्याग्दी बहुमुखी क्याम्पसकी उपप्रध्यापिका रेखाकौशल रेग्मीले मेलाजात्राका गतिविधिले धेरै किशोरीको भविष्यमा नकारात्मक असर पारिरहेको जनाइन्।
परिवार नियोजनको कम प्रयोग
जिल्लामा २१ हजार १८३ प्रजननयोग्य महिलामध्ये ४७ प्रतिशत दम्पतीले मात्र आधुनिक परिवार नियोजनका साधन प्रयोग गर्छन्। बाँकी ५३ प्रतिशतले साधन प्रयोग नगर्दा अनिच्छित गर्भधारण र असुरक्षित गर्भपतन बढिरहेको स्वास्थ्यकर्मीहरूले बताउँछन्।

नेपाल सरकारले २००२ देखि गर्भपतन कानुनी रूपमा अनुमति दिँदै आएको छ र २०१६ देखि सरकारी स्वास्थ्य संस्थामा यो सेवा निःशुल्क छ। हाल देशभर २,८२७ सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा उपलब्ध भए पनि स्वास्थ्य सेवा विभागको अध्ययनअनुसार ५२ प्रतिशत गर्भपतन अझै असुरक्षित रूपमा भइरहेका छन्। अनधिकृत औषधि पसलबाट औषधि किन्नेजस्ता जोखिमपूर्ण अभ्यासले महिलाको स्वास्थ्यमा गम्भीर प्रभाव पारिरहेको छ।

सुनौलो परिवार नेपालका प्रबन्धक कुमार आचार्यले अनधिकृत क्लिनिकहरूको कडाइका साथ अनुगमन गर्नुपर्नेमा जोड दिँदै, ‘मेरी स्टोप्स’ क्लिनिक र ११४३ हटलाइनमार्फत सुरक्षित गर्भपतन तथा प्रजनन स्वास्थ्य परामर्श प्रदान भइरहेको जानकारी दिए।

spot_img

ताजा अपडेट

लोकप्रिय