काठमाडौं,१६ मंसिर । भारतको उत्तरप्रदेशस्थित बलरामपुर जिल्लामा नेपालीहरू सवार बस ट्रकसँग ठोक्किँदा आगलागी भएको छ। घटनामा कम्तीमा ३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने २४ जना घाइते भएका छन्। तीमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। मृतक र घाइतेहरूको पहिचान अहिलेसम्म खुल्न सकेको छैन।
घटनास्थलका अनुसार यूपी २२ एटी ०२४५ नम्बरको बस र यूपी २१ डीटी ५२३७ नम्बरको ट्रक मंगलबार बिहान करिब साढे २ बजे कोतवाली देहात थाना क्षेत्रको फुलबरिया सडकमा ठोक्किएका थिए।
बस ठोक्किएपछि करिब १०० मिटर घिस्रिँदै गएर हाइटेन्सन लाइनको बिजुलीको खम्बासँग ठोक्किएको भारतीय मिडियाले जनाएका छन्। खम्बा भाँचिँदा करेन्ट फैलिएको र त्यसैबाट आगो लागेको बताइएको छ।
बस सुनौली नजिकको सीमाबाट दिल्ली जाँदै थियो र यसमा करिब ४५ जना यात्रु सवार थिए। दैनिक भाष्करका अनुसार अधिकांश यात्रु नेपाली नागरिक रहेको बताइएको छ।

