लिबियाका सेना प्रमुखसहित उच्च अधिकारीको टर्कीमा विमान दुर्घटनामा मृत्यु

spot_img

काठमाडौं,०९ पुस । टर्की भ्रमणमा रहेका लिबियाली सेनाका चिफ अफ जनरल स्टाफ लेफ्टिनेन्ट जनरल मोहम्मद अल–हद्दाद सवार विमान दुर्घटनामा परेर उहाँसहित आठ जनाको मृत्यु भएको छ।

टर्कीको राजधानी अंकारा नजिकै भएको दुर्घटनामा ‘फाल्कन–५०’ विमान उडेको करिब ३० मिनेटमै प्राविधिक समस्याका कारण दुर्घटनाग्रस्त भएको टर्कीका गृहमन्त्री अली येरलिकायाले जानकारी दिएका छन्। विमानको भग्नावशेष अंकाराबाट करिब ७० किलोमिटर दक्षिणमा पर्ने हायमाना क्षेत्रमा फेला परेको छ।

दुर्घटनामा लिबियाका स्थलसेना प्रमुख जनरल अल–फितुरी घ्रैबिल, ब्रिगेडियर जनरल महमूद अल–कतावी, चिफ अफ स्टाफका सल्लाहकार मोहम्मद अल–असावी दियाब, सैन्य फोटोग्राफर मोहम्मद ओमर अहमद महजुब तथा चालक दलका तीन सदस्यको ज्यान गएको छ।

लिबियाको उच्चस्तरीय सैन्य प्रतिनिधिमण्डल टर्कीसँग रक्षा सहयोगसम्बन्धी वार्ता सम्पन्न गरी स्वदेश फर्किने क्रममा उक्त दुर्घटना भएको हो। प्रत्यक्षदर्शीहरूले मध्यरातमा ठूलो विस्फोटको आवाज र आकाशमा चम्किलो उज्यालो देखिएको बताएका छन्। दुर्घटनाअघि विमानबाट आपतकालीन अवतरणको संकेत पठाइएको भए पनि प्राविधिक गडबडीका कारण पाइलटले नियन्त्रण गुमाएको प्रारम्भिक अनुमान गरिएको छ।

दुर्घटनापछि अंकारा विमानस्थल केही समयका लागि बन्द गरी अन्य उडानहरू डाइभर्ट गरिएको थियो। टर्कीको न्याय मन्त्रालयले घटनाको छानबिनका लागि चार सदस्यीय टोली गठन गरेको छ भने लिबिया सरकारले पनि आफ्ना विशेषज्ञहरू अंकारा पठाउने निर्णय गरेको छ।

सन् २०२० देखि लिबियाली सेनाको नेतृत्व सम्हाल्दै आउनुभएका जनरल अल–हद्दादको निधनले राजनीतिक अस्थिरता र आन्तरिक द्वन्द्व झेलिरहेको लिबियामा थप चुनौती सिर्जना हुने देखिएको छ। लिबियाका प्रधानमन्त्री अब्दुल–हामिद दबैबाले शोक विज्ञप्ति जारी गर्दै यस घटनालाई देशका लागि अपूरणीय क्षति भएको बताएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय