बङ्गलादेशमा भीडको कुटपिटबाट २९ वर्षीय युवकको मृत्यु

spot_img

काठमाडाैं,११ पुस । बङ्गलादेशको राजबारी जिल्लामा २९ वर्षीय एक हिन्दु युवकको स्थानीय भीडद्वारा कुटपिट गरी हत्या गरिएको छ। मृतक अमृत मण्डल (उर्फ सम्राट्) भएको बङ्गलादेशी प्रहरीले जनाएको छ।

घटना बुधबार राति करिब ११ बजे पाङ्शा उपजिल्लाअन्तर्गत होसेनडाङ्गा गाउँको पुरानो बजार क्षेत्रमा भएको हो। प्रहरीका अनुसार अमृत मण्डल आफ्ना केही साथीसँग एक स्थानीय बासिन्दाको घरमा चन्दा माग्न गएका थिए। घरधनी अनुपस्थित रहेको अवस्थामा उनीहरूले घरधनीका छोरालाई कुटपिट गरेपछि छिमेकीहरूले ‘चोर–चोर’ भन्दै हल्ला गरेका थिए। त्यसपछि जम्मा भएको भीडले मण्डलमाथि आक्रमण गरेको बताइएको छ।

कुटपिटबाट गम्भीर घाइते भएका मण्डलको घटनास्थलमै मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनापछि उनका अधिकांश साथीहरू भाग्न सफल भए पनि सलिम शेख नामक एक सहयोगीलाई भीडले समातेर प्रहरीलाई बुझाएको थियो। सलिम शेखको साथबाट एक पेस्तोल र एक सिङ्गल–सुटर बन्दुक बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

मृतक अमृत मण्डल अक्षय मण्डलका छोरा तथा सोही गाउँका स्थायी बासिन्दा हुन्। प्रहरी रेकर्डअनुसार उनी ‘सम्राट् बहिनी’ नामक स्थानीय आपराधिक समूहका नेता थिए। उनीविरुद्ध हत्या लगायतका विभिन्न आपराधिक मुद्दा दर्ता रहेको र चन्दा असुली तथा आतङ्ककारी गतिविधिमा संलग्न भएको आरोप थियो। पूर्व अवामी लिग सरकारको समयमा भारततर्फ भागेका मण्डल केही दिनअघि मात्र बङ्गलादेश फर्किएको बताइएको छ।

प्रहरीले मण्डलको शव पोस्टमार्टमका लागि अस्पताल पठाएको छ भने सलिम शेखलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ। साथै, भीड हिंसामा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

बङ्गलादेशमा पछिल्लो समय भीड हिंसाका घटनाहरू बढ्दै गएका छन्, जसले अल्पसङ्ख्यक समुदायको सुरक्षाप्रति गम्भीर चिन्ता थपेको छ। केही दिनअघि मात्र डिसेम्बर १९ मा माइमेनसिंहमा ईशनिन्दाको आरोपमा दीपु चन्द्र दासको भीडद्वारा हत्या भएको थियो। यद्यपि, प्रहरीका अनुसार अमृत मण्डलको हत्या धार्मिक कारणले नभई चन्दा माग्ने घटनासँग सम्बन्धित रहेको स्पष्ट पारेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय