काठमाडौं,११ पुस । मलेसियाका पूर्वप्रधानमन्त्री नजीब रजाकलाई वान एमडीबी भ्रष्टाचार प्रकरणमा पद दुरुपयोगको मामिलामा दोषी ठहर गरिएको छ । साथै, उनलाई मनी लउन्ड्रिङ (सम्पत्ति शुद्धिकरण) सम्बन्धी २१ आरोपमा पनि दोषी घोषित गरिएको छ । वान एमडीबी कोषसँग सम्बन्धित एउटा छुट्टै मुद्दामा उनी पहिल्यै जेल सजाय काटिरहेका छन् ।
नजीब सन् २००९ देखि २०१८ सम्म प्रधानमन्त्री थिए । सन् २०२० मा उनलाई पद दुरुपयोगसहित विभिन्न मुद्दामा १२ वर्षको जेल सजाय सुनाइएको थियो । पछि जेल अवधि घटाएर ६ वर्ष बनाइएको थियो । नयाँ दोष सिद्धिपछि सजाय अवधि बढ्ने सम्भावना रहेको छ ।
उच्च अदालतले ७२ वर्षीय नजीबलाई पद दुरुपयोगसँग सम्बन्धित चार आरोप तथा वान एमडीबी कोषबाट आफ्नो निजी बैंक खातामा ७० करोड डलरभन्दा बढी रकम जम्मा गराएको विषयमा मनी लउन्ड्रिङसम्बन्धी २१ आरोपमा दोषी ठहर गरेको हो ।



