बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन

spot_img

काठमाडौँ,१५ पुस । बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जियाको ८० वर्षको उमेरमा आज बिहान निधन भएको छ। लामो समयदेखि गम्भीर स्वास्थ्य समस्याबाट ग्रसित रहेकी जियाको उपचारका क्रममा निधन भएको हो। उनी विगत २० दिनदेखि भेन्टिलेटरमा उपचाररत थिइन्।

खालिदा जिया छातीको संक्रमण, कलेजो तथा मिर्गौला समस्या, मधुमेह, बाथ रोग र आँखासम्बन्धी जटिल स्वास्थ्य अवस्थाबाट पीडित थिइन्। उनको निधनको पुष्टि परिवारका सदस्य तथा बीएनपीका शीर्ष नेताहरूले गरेका छन्।

खालिदा जिया सन् १९९१–१९९६ र २००१–२००६ गरी दुई कार्यकाल बंगलादेशको प्रधानमन्त्री बनेकी थिइन्। उनी बंगलादेशको इतिहासमा पहिलो महिला प्रधानमन्त्री हुन्। उनी पूर्व राष्ट्रपति जियाउर रहमानकी पत्नी समेत हुन्।

उनका जेठा छोरा तथा बीएनपीका कार्यकारी अध्यक्ष तारिक रहमान लामो समयदेखि लन्डनमा बसोबास गर्दै आएका थिए र यसै महिना मात्र बंगलादेश फर्किएका थिए। उनका कान्छा छोरा अराफात रहमानको सन् २०१५ मा हृदयाघातका कारण निधन भइसकेको थियो।

खालिदा जिया सन् २०१८ मा जिया अनाथालय ट्रस्ट भ्रष्टाचार प्रकरणमा दोषी ठहर भई जेल सजाय भोग्दै आएकी थिइन्। ढाकाको विशेष अदालतले उनलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो, जुन पछि उच्च अदालतले बढाएर १० वर्ष पुर्‍याएको थियो। कानुनी प्रक्रियाका कारण लामो समयसम्म मुद्दा पेचिलो बन्दै गएको थियो।
शेख हसिनाविरुद्ध भएको कूको एक दिनपछि, अगस्ट ६, २०२४ मा उनी रिहा भएकी थिइन्। त्यसपछि उपचारका लागि लन्डन गएकी जिया चार महिना उपचारपछि मे ६ मा बंगलादेश फर्किएकी थिइन्।

बंगलादेशको आधुनिक राजनीति लामो समयसम्म अवामी लिगकी शेख हसिना र बीएनपीकी खालिदा जियाको वरिपरि केन्द्रित रह्यो। सन् १९८० को दशकमा सैन्य शासनविरुद्ध दुवैले संयुक्त रूपमा सडक आन्दोलनको नेतृत्व गरेका थिए। सन् १९९० मा तानाशाह हुसैन मोहम्मद एरशादको पतनपछि प्रजातन्त्र पुनःस्थापित भयो र त्यसपछि यी दुई नेतृबीचको राजनीतिक प्रतिस्पर्धा तीव्र बनेको थियो, जसलाई ‘बेगमहरूको युद्ध’ नाम दिइएको थियो।

सन् १९४५ मा जन्मिएकी खालिदा जिया राजनीतिक पृष्ठभूमि नभएको परिवारबाट राजनीतिमा उदाएकी थिइन्। सन् १९६० मा उनले सैनिक अधिकृत जियाउर रहमानसँग विवाह गरिन्। जियाउर रहमान राष्ट्रपति बनेपछि सन् १९७७ मा बीएनपी गठन गरिएको थियो। सन् १९८१ मा उनको हत्या भएपछि खालिदा जियाले पार्टीको नेतृत्व सम्हाल्दै सक्रिय राजनीतिमा प्रवेश गरिन्।

खालिदा जियाको निधनसँगै बंगलादेशले दशकौँसम्म आफ्नो राजनीतिमा निर्णायक भूमिका खेलेकी एक प्रभावशाली, विवादास्पद र ऐतिहासिक नेतृ गुमाएको छ। विश्लेषकहरूका अनुसार उनको निधनले बंगलादेशी राजनीतिमा एउटा युगको अन्त्य भएको संकेत गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय