काठमाडाैं,१५ पुस । बङ्गलादेश अवामी लिगकी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री शेख हसिनाले बङ्गलादेशकी पूर्वप्रधानमन्त्री एवं बङ्गलादेश नेसनालिस्ट पार्टी (बीएनपी)की अध्यक्ष बेगम खालिदा जियाको निधनप्रति गहिरो शोक व्यक्त गरेकी छन्।
अवामी लिगको आधिकारिक सामाजिक सञ्जालमार्फत जारी शोक सन्देशमा शेख हसिनाले खालिदा जियालाई बङ्गलादेशको राजनीतिक इतिहासमा महत्वपूर्ण योगदान पुर्याउने नेतृका रूपमा स्मरण गरेकी छन्। उनले बङ्गलादेशको पहिलो महिला प्रधानमन्त्री तथा लोकतन्त्र स्थापनाको सङ्घर्षमा खालिदा जियाले खेलेको भूमिकाको प्रशंसा गर्दै उनको योगदान सधैँ स्मरणीय रहने उल्लेख गरेकी छन्।
शोक सन्देशमा शेख हसिनाले खालिदा जियाको निधनले बङ्गलादेशको राजनीतिक जीवन र बीएनपीको नेतृत्वमा अपूरणीय क्षति पुगेको बताउँदै दिवङ्गत नेतृको आत्माको चिरशान्तिको कामना गरेकी छन्। साथै, उनका छोरा तारिक रहमान, शोकाकुल परिवारका सदस्यहरू तथा सम्पूर्ण बीएनपी परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेकी छन्। यस कठिन घडीमा परिवारजन र समर्थकहरूलाई धैर्य, शक्ति र सान्त्वना प्रदान गरिदिन सर्वशक्तिमान अल्लाहसँग प्रार्थना समेत गरेकी छन्।
बेगम खालिदा जियाको मंगलबार बिहान ८० वर्षको उमेरमा राजधानी ढाकास्थित एभरकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। बीएनपीद्वारा जारी विज्ञप्तिअनुसार, फजरको नमाजपछि बिहान ६ बजे (स्थानीय समय) उनको निधन भएको पुष्टि गरिएको छ।
बीएनपीका अनुसार फोक्सोको सङ्क्रमणका कारण नोभेम्बर २३ मा खालिदा जियालाई अस्पताल भर्ना गरिएको थियो। उनी लामो समयदेखि हृदय रोग, मधुमेह, गठिया, लिभर सिरोसिस तथा मिर्गौला सम्बन्धी जटिल रोगबाट पीडित रहँदै आएकी थिइन्। यस महिनाको सुरुतिर थप उपचारका लागि उनलाई लन्डन लगिएको भए पनि स्वास्थ्यमा सुधार नआएपछि पुनः ढाकामै उपचार जारी राखिएको थियो।
दिवङ्गत नेतृका छोरा तथा बीएनपीका कार्यवाहक अध्यक्ष तारिक रहमान आमालाई अन्तिम श्रद्धाञ्जलि दिन अस्पताल पुगेपछि त्यहाँ ठूलो सङ्ख्यामा समर्थक तथा शोकाकुल नागरिकहरूको भीड देखिएको थियो। यसैबीच, बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार तथा नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले पनि बेगम खालिदा जियाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्देश जारी गरेका छन्।

