वीरगंज, १७ पुस – पर्साको पर्सागढी नगरपालिका वडा नं. ६ मा पछिल्लो केही वर्षयता मनाइँदै आएको बिजय उत्सव यस वर्ष पनि भव्य रूपमा आयोजना गरिने पर्सागढी नगरपालिकाले जनाएको छ।
बिजय उत्सवबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा पर्सागढी नगरपालिका मेयर गोकर्ण पाठकले यही पुस १९ गते आयोजना हुने उत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन्।
पर्सागढी किल्ला परिसरमा आयोजित पत्रकार सम्मेलनमा मेयर पाठकले यस पटकको बिजय उत्सव कार्यक्रममा १४ पालिकाका प्रमुखहरुलाई आमन्त्रित गरिएको र नेपाली सेनाको टुकडीले झाकी, खुकुरी प्रदर्शन गर्ने विषय रहेको जानकारी दिएका छन्। साथै, स्थानीय थारु संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम यस उत्सवको विशेष आकर्षणको रूपमा रहने जनाएका छन्।
उहाँले बिजय उत्सवमा पर्सागढी नगरपालिका क्षेत्रभित्रका विद्यालयका छात्र-छात्रा, नगरपालिका कर्मचारी, नेपाली सेनाका उच्च तहका अधिकारी तथा मधेश प्रदेश सरकारका मन्त्रीहरुको सहभागीता रहने बताए। उत्सव सफल पार्न नगरपालिकाले मातहतका सबै निकायलाई निर्देशन दिएको र तयारी करिब पूर्ण भइसकेको पाठकले जानकारी दिएका छन्।
पत्रकार सम्मेलनमा बोल्दै पर्सागढी किल्ला मन्दिर समितिका संरक्षक बिज्रमोहन चौधरीले पर्सागढी किल्ला राष्ट्रिय एकता र गौरवको प्रतीक रहेको र यसमा सबै नेपालीले गर्व गर्नु पर्नेमा जोड दिएका छन्। उनले बिजय उत्सव मनाउने कार्यमा नेपाली सेना तथा नगरपालिकाले विशेष सहयोग गर्दै आएको जानकारी दिएका छन्। साथै, किल्ला क्षेत्रलाई संरक्षण गर्नुपर्ने र पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्ने बताए।
उहाँले किल्ला क्षेत्रको धेरै जग्गा अतिक्रमणमा परेको चर्चा गर्दै तीनै तहको सरकारले मिलेर जग्गा फिर्ता अभियान सञ्चालन गर्नुपर्ने र किल्लाको संरक्षण, प्रवर्धन तथा प्रचार-प्रसारमा काम गर्नुपर्ने बताए।
पत्रकार सम्मेलनमा पर्सागढी किल्ला मन्दिर समितिका अध्यक्ष रामजन्म चाैधरी, स्थानीय अगुवा, नगरपालिका कर्मचारी लगायतको उपस्थिती रहेको थियो। पर्सागढी किल्लामा नेपाली सेनाले अंग्रेजी सेनालाई हराएको ऐतिहासिक घटना रहेको छ। बिजय उत्सवलाई श्री श्री जंग गण वीरगंजले विशेष महत्वका साथ मनाउँदै आएको छ।




