काठमाडौँ । भारतीय विदेशमन्त्री एस. जयशंकरले छिमेकी देशहरू सधैँ मित्रवत् नहुन सक्ने उल्लेख गर्दै भारतले आफ्नो सुरक्षाका लागि आवश्यक परे जे पनि कदम चाल्न सक्ने स्पष्ट पारेका छन्। भारतले के गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने निर्णय अर्को देशले गर्न नमिल्ने उनको भनाइ छ।
शुक्रबार आईआईटी मद्रासमा आयोजित ‘शस्त्र २०२६ – आईआईटी मद्रास टेक्नो–इन्टरटेनमेन्ट फेस्ट’ को उद्घाटन कार्यक्रममा विदेश नीतिसम्बन्धी प्रश्नको जवाफ दिँदै जयशंकरले यस्तो धारणा व्यक्त गरेका हुन्।
उनले भने, “छिमेकी खराब पनि हुन सक्छन्। यदि पश्चिमतर्फ हेर्ने हो भने दुर्भाग्यवश हाम्रो अनुभव पनि त्यस्तै छ।” उनको यो अभिव्यक्ति पाकिस्तानतर्फ लक्षित रहेको आकलन गरिएको छ।
जयशंकरले जानाजान आतंकवाद फैलाउने देशविरुद्ध भारतसँग आत्मरक्षाको पूर्ण अधिकार रहेको उल्लेख गर्दै यस्तो अवस्थामा भारतलाई के गर्ने र के नगर्ने भनेर सिकाउने प्रयास अनुचित हुने बताए।
यसैक्रममा उनले राम्रो छिमेकीको उदाहरणका रूपमा श्रीलंकालाई प्रस्तुत गर्दै भारतले छिमेकी मुलुकहरूसँग सहकार्य र सहयोगलाई प्राथमिकतामा राख्दै आएको बताए। भारतले कोरोना महामारीका बेला छिमेकी देशहरूलाई खोप सहयोग गरेको र श्रीलंका आर्थिक संकटमा परेका बेला चार अर्ब डलरको आर्थिक सहायता उपलब्ध गराएको पनि उनले स्मरण गराए।
विदेशमन्त्री जयशंकरले भारतको विकास छिमेकी देशहरूका लागि पनि लाभदायक हुने विश्वास अधिकांश छिमेकी राष्ट्रमा रहेको उल्लेख गर्दै क्षेत्रीय सहकार्यलाई अझ मजबुत बनाउने भारतको नीति रहेको बताए।

