काठमाडाैं,१९ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशअनुसार अमेरिकाले भेनेजुएलाका विभिन्न सैन्य ठेगानामा आक्रमण गरेको छ। अमेरिकी अधिकारीहरूले बीबीसी साझेदार सीबीएस न्युजसँग जानकारी दिँदै, राजधानी काराकासमा सैन्य अखडाहरूलाई निशाना बनाइएको बताएका छन्।
शनिबार बिहानैदेखि काराकासमा ठूला विस्फोटका आवाजहरू सुनिएका छन् भने आकाशमा विमानहरू उडेको देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। आक्रमण विशेषगरी सहरको ‘ला कार्लोटा’ सैन्य एयरफिल्ड र मुख्य सैन्य आधार ‘फुएर्टे ट्युना’मा केन्द्रित भएको थियो। यसका भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। आक्रमणपछि वरपरका बस्तीमा विद्युत् सेवा अवरुद्ध भएको छ।
ट्रम्प प्रशासनले राष्ट्रपति निकोलस मदुरोलाई लागुऔषध तस्करी र अमेरिकामा अवैध घुसपैठ गराएको आरोप लगाउँदै आएपछि भेनेजुएलामा दबाब सिर्जना गरिरहेको छ। अमेरिकाले क्यारेबियन क्षेत्रमा लागुऔषध बोकेको शङ्कामा डुङ्गाहरूमाथि सैन्य कारबाहीलाई पनि तीव्र बनाउँदै आएको छ।
भेनेजुएलाले भने वासिङ्टनको पछिल्लो कदमहरू राष्ट्रपति मदुरोलाई सत्ताबाट हटाउन र देशको तेल भण्डारमा नियन्त्रण जमाउन केन्द्रित रहेको बताएको छ। अमेरिकी कदमका कारण देशभित्रै भित्री विरोध र तनाव बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

