काठमाडौँ,१९ माघ । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो सवा १ बजे सिंहदरबारमा बस्ने भएको छ।
बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र सो ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायन सम्बन्धी अध्ययन प्रतिवेदन–२०८२’ सभा समक्ष पेस गर्ने कार्यक्रम रहेको छ।
साथै, विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन–२०८२’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछिन्।
गृहमन्त्री ओमप्रकाश अर्यालले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश–२०८२, प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश–२०८२ र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश–२०८२ स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचीमा समावेश छ।
बैठकमा प्रस्तुत हुने यी प्रतिवेदन र अध्यादेशहरूले आगामी निर्वाचन व्यवस्थापन, विधायन सुधार र सार्वजनिक नीति कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।



