बीरगन्ज,२६ वैशाख । पर्साको बढनियार क्षेत्रमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २५० जना स्थानीय लाभान्वित भएका छन्। जुनतारा बचत तथा ऋण सहकारी संस्था ले प्रभु हस्पिटल को सहकार्यमा सञ्चालन गरेको शिविर शनिबार पर्सागढी नगरपालिका–६ मा सम्पन्न भएको हो।
‘घरदैलोमा डाक्टर’ अभियानअन्तर्गत सञ्चालन गरिएको शिविरमा १९० जना महिलासहित विभिन्न उमेर समूहका स्थानीयले स्वास्थ्य परीक्षण गराएका थिए। शिविरमा सामान्य स्वास्थ्य जाँचसँगै मधुमेह परीक्षण तथा आवश्यक परामर्श सेवा प्रदान गरिएको आयोजकले जनाएको छ। आवश्यकता अनुसार बिरामीलाई निःशुल्क औषधि वितरण समेत गरिएको थियो।
प्रभु हस्पिटलका कार्यक्रम प्रमुख दलिपराज कार्की का अनुसार ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच कम भएका नागरिकलाई लक्षित गरेर घरदैलोमै विशेषज्ञ सेवा पुर्याउने उद्देश्यले शिविर आयोजना गरिएको हो।
शिविर मन्जु क्षेत्री को अध्यक्षतामा सम्पन्न भएको थियो भने डा. लक्ष्मी थापा गुप्ता प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्। कार्यक्रममा वरिष्ठ फिजिसियन डा. रवि रन्जन साह तथा पत्रकार बलिराम शुक्ला लगायतको पनि उपस्थिति रहेको थियो।




