अमेरिकाद्वारा आफ्ना नागरिकलाई तुरुन्तै इरान छोड्न निर्देशन

spot_img

काठमाडौं,२९ पुस –  संयुक्त राज्य अमेरिकाले इरानमा रहेका आफ्ना नागरिकलाई तत्काल स्वदेश फर्कन आग्रह गरेको छ । अमेरिकी दूतावासले सुरक्षा सतर्कता जारी गर्दै हालको अवस्थालाई गम्भीर बताउँदै इरान छाड्न निर्देशन दिएको हो ।

दूतावासका अनुसार इरानका विभिन्न क्षेत्रमा सरकारविरुद्धका प्रदर्शनहरू तीव्र बन्दै गइरहेका छन् र ती झन् हिंसात्मक हुन सक्ने जोखिम रहेको छ । यस्तो अवस्थामा अमेरिकी नागरिकहरू पक्राउ पर्न सक्ने, घाइते हुने वा अन्य खतरामा पर्न सक्ने सम्भावना रहेकाले तुरुन्त देश छाड्न भनिएको छ ।

जारी गरिएको एडभाइजरीमा अमेरिकी नागरिकहरूलाई वैकल्पिक सम्पर्क माध्यमहरूको खोजी गर्न पनि सुझाव दिइएको छ । साथै, अवस्था सुरक्षित भएमा आर्मेनिया वा टर्की हुँदै स्थलमार्गबाट इरान बाहिरिने विकल्पमाथि विचार गर्न भनिएको छ ।

यदि इरान छाड्न सम्भव नभए सुरक्षित स्थानमा बस्न, पर्याप्त खाना, पानी, औषधि तथा अन्य आवश्यक सामग्री संकलन गरेर राख्न दूतावासले आग्रह गरेको छ । प्रदर्शन स्थलबाट टाढा रहनुका साथै वरपरको सुरक्षा अवस्थाप्रति सतर्क रहन समेत भनिएको छ ।

इरानमा हाल अमेरिकाको प्रत्यक्ष कूटनीतिक उपस्थिति छैन । अमेरिकाको तर्फबाट स्विट्जरल्यान्डले ‘प्रोटेक्टिङ पावर’को भूमिका निर्वाह गर्दै आएको छ । अमेरिकी विदेश मन्त्रालयले यूएस भर्चुअल एम्बेसी इरानमार्फत आवश्यक सूचना प्रदान गर्दै आएको जनाएको छ ।

इरानमा पछिल्ला करिब दुई सातादेखि सरकारविरुद्ध प्रदर्शनहरू जारी छन् । यसै क्रममा सरकार समर्थक समूहहरूले पनि समर्थन र्‍यालीहरू आयोजना गरेका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय