काठमाडौं,०८ माघ । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको गाउँ लेक कार्गेलिगोमा बिहीबार गोली चलेको छ । गोलीबारीमा तीनजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् । घाइते एक पुरुषको अस्पतालमा उपचार भइरहेको छ ।
स्थानीय समयअनुसार बेलुका ४ः४० मा येल्किन स्ट्रिटमा गोलीबारी भएको प्रहरीले बताएको छ । घटनामा अहिलेसम्म आक्रमणकारी कति थिए भन्ने थाहा नभएको र कुनै पनि शंकास्पदलाई पक्राउ नगरिएको बताइएको छ ।
अहिले प्रहरी आक्रमणकारीहरूको खोजीमा जुटेको छ । नागरिकलाई घरबाहिर ननिस्कन आग्रह गरिएको छ । एसोसिएटेड प्रेसका अनुसार, अस्ट्रेलियाले राष्ट्रिय शोक दिवस मनाइरहेका बेला गोलीबारी भएको हो । डिसेम्बर १४ मा सिड्नीमा हनुक्का समारोहका क्रममा भएको गोलीबारीमा मारिएका १५ जनालाई सम्झिँदै शोक मनाइँदै थियो ।



