वीरगन्ज,१३ माघ । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा एचपीभी (HPV) खोप सञ्चालनलाई प्रभावकारी बनाउन पालिकास्तरीय खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँ कार्यपालिकाअन्तर्गत स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
अभिमुखीकरणमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजेशप्रसाद रौनियारले पाठेघरको मुखको क्यान्सर र एचपीभी खोपको महत्वबारे जानकारी गराएका थिए। उनले विश्व स्वास्थ्य तथ्यांक उद्धृत गर्दै सन् २०२० मा देखिएका पाठेघरको मुखको क्यान्सरका करिब ८८ प्रतिशत बिरामी तथा मृत्यु न्यून र मध्यम आय भएका देशहरूमा रहेको बताए। महिलामा देखिने क्यान्सरमध्ये यो चौथो प्रमुख क्यान्सर भएको उनको भनाइ थियो।
रौनियारका अनुसार ‘ह्युमन पापिलोमा भाइरस’ (HPV) नै पाठेघरको मुखको क्यान्सरको मुख्य कारण हो। एचपीभीका २०० भन्दा बढी प्रकारमध्ये कम्तीमा १२ प्रकार क्यान्सर गराउने उच्च जोखिमका भाइरस मानिन्छन्। योनिबाट असामान्य रक्तस्राव, तलोपेट दुख्ने, पानी बग्ने जस्ता लक्षणहरू यस क्यान्सरका प्रमुख संकेत हुन्।
कार्यक्रममा पाठेघरको मुखको क्यान्सरबाट बच्न एचपीभी खोप अत्यन्त प्रभावकारी रहेको उल्लेख गर्दै १० देखि १४ वर्षको उमेरमै खोप लगाउनुपर्नेमा जोड दिइयो।
वडा नम्बर–२ का वडाध्यक्ष चिरञ्जीवी महतो थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सबै वडाध्यक्ष, शिक्षक, गाउँका अगुवा तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रमको सहजीकरण महुवन स्वास्थ्य चौकीका इन्चार्ज सरोज गिरीले गरेका थिए। सहभागीहरूले एचपीभी खोप कार्यक्रम सफल बनाउन स्थानीय तह, विद्यालय र समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिएका थिए।



