वीरगन्ज,१४ माघ । पर्सा क्षेत्र नं. २ अन्तर्गत विन्दवासनी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार सुशिल साह कानुले घरदैलो कार्यक्रम सञ्चालन गर्नुभएको छ। स्थानीय तहमा संगठन विस्तार र जनसम्पर्क सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा युवासहित स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो।
घरदैलोका क्रममा उम्मेदवार कानु र पार्टी प्रतिनिधिहरूले विभिन्न टोल–बस्तीमा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गरेका थिए। भेटघाटका क्रममा स्थानीयले रोजगारी, शिक्षा, स्वास्थ्य सेवा, खानेपानी, सडक तथा आधारभूत पूर्वाधारका समस्याबारे आफ्ना गुनासा र सुझाव राखेका थिए।
पार्टी प्रतिनिधिहरूले स्थानीयका समस्या गम्भीरतापूर्वक सुन्दै तिनलाई आगामी नीति तथा कार्यक्रममार्फत सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। यस अवसरमा रास्वपाले पारदर्शी शासन, सुशासन र जवाफदेही राजनीतिको माध्यमबाट जनअपेक्षाअनुसारको विकास गर्ने लक्ष्य लिएको स्पष्ट पारेको थियो।
“अबको परिवर्तन युवाको नेतृत्व” भन्ने नारासहित सम्पन्न कार्यक्रममा युवाहरूको उत्साहजनक सहभागिता देखिएको पार्टीले जनाएको छ। रास्वपाका अनुसार यस्ता घरदैलो कार्यक्रमले जनताको वास्तविक अवस्था बुझ्न सहयोग पुग्ने विश्वासका साथ आगामी दिनमा पनि अभियानलाई निरन्तरता दिइनेछ।

