वीरगन्ज,१४ माघ । नेकपा एमाले वीरगन्ज महानगर कमिटीको चौथो पूर्ण बैठक सम्पन्न भएको छ। बैठक महानगर कमिटीका कार्यबाहक अध्यक्ष लियाकत अलिको अध्यक्षतामा तथा पार्टीका केन्द्रीय सदस्य विजय कुमार सरावगीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
महानगर इन्चार्ज विचारी यादवको संयोजकत्वमा सम्पन्न बैठकमा आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन तथा निर्वाचन रणनीतिबारे विस्तृत छलफल गरिएको थियो। बैठकले निर्वाचनलाई प्रभावकारी बनाउन ५५१ सदस्यीय नेकपा एमाले वीरगन्ज महानगर निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ।
बैठकमा पार्टीको समसामयिक राजनीतिक अवस्था, संगठन विस्तार र जनआधार मजबुत बनाउने विषयमा नेताहरूले आ–आफ्नो धारणा राखेका थिए। सहभागी नेताहरूले आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन सबै तहका कार्यकर्ताले एकताबद्ध भएर सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।
बैठकमा पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार प्रदीप यादव, क्षेत्र नं. २ की उम्मेदवार रिमा यादव, क्षेत्र नं. ३ का उम्मेदवार रुपेश पाण्डेलगायत पार्टीका केन्द्रीय, जिल्ला तथा महानगर तहका नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। बैठकले निर्वाचन परिचालन समितिको गठनसँगै अन्य आवश्यक संगठनात्मक तथा रणनीतिक निर्णयहरू पनि पारित गरेको छ। नेकपा एमालेले वीरगन्ज महानगर क्षेत्रमा निर्वाचन केन्द्रित गतिविधि थप तीव्र बनाउने जनाएको छ।

