काठमाडौं,१८ माघ । इशान किशनको विष्फोटक शतक र तीव्र गतिका बलर अर्शदीप सिंहको घातक बलिङको मद्दतले भारतले पाँचौँ तथा अन्तिम टी–२० खेलमा न्युजिल्याण्डलाई ४६ रनले स्तब्ध पारेको छ।
आइतबार तिरुवनन्तपुरममा भएको यस जितसँगै भारतले ५ खेलको शृङ्खला ४–१ को फराकिलो अन्तरले आफ्नो पक्षमा पारेको हो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाउँदै २७१ रनको विशाल स्कोर खडा गरेको हो ।
यो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतको तेस्रो उच्च योगफल हो। भारतका लागि इशान किशनले ४२ बलमा शतक प्रहार गर्दै १० छक्का र ६ चौकाको मद्दतमा १०३ रन बनाए। कप्तान सूर्यकुमार यादवले ३० बलमा ६३ रनको आक्रामक पारी खेले।
हार्दिक पाण्ड्याले अन्तिम समयमा १७ बलमा ४२ रन जोड्दै स्कोरलाई विशाल बनाए। २७२ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड १९.४ ओभरमा २२५ रनमा समेटियो। फिन एलेनले ३८ बलमा ८० रनको विष्फोटक पारी खेल्दै जितको आशा जगाए पनि अन्य ब्याटर चल्न सकेनन्।
अर्शदीपले आफ्नो करियरकै उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए। अक्षर पटेलले ३ विकेट लिए भने रिंकु सिंह र वरुण चक्रवर्तीले १–१ विकेट बाँडे। पाँच खेलको यस शृङ्खलामा भारत सुरुदेखि नै हाबी देखियो। अन्तिम खेलमा पनि ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै भारतले ट्रफीमा कब्जा जमाएको छ।

