वीरगन्ज,१८ माघ । नेकपा एमालेको अगुवा भेला तथा कार्यकर्ता भेटघाट कार्यक्रम पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजित कार्यक्रममा एमालेप्रति जनआकर्षण थप बलियो बन्दै गएको देखिएको छ।
नेकपा एमाले बहुदरमाई नगर कमिटी अध्यक्ष प्रमोद कुशवाहाको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं पर्सा जिल्ला इन्चार्ज प्रभु हजराको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा केन्द्रीय सल्लाहकार परिषद सदस्य शिव पटेल, अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघका केन्द्रीय अध्यक्ष तेजप्रकाश नेपाली निषाद, मधेस प्रदेश कमिटी सदस्य तथा बहुदरमाई नगरपालिकाकी नगर उपप्रमुख सुष्मा कुशवाहालगायत प्रदेश, जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा स्थानीय बुद्धिजीवी, अगुवा नेता तथा सक्रिय कार्यकर्ताहरूको बाक्लो उपस्थिति देखिनु एमालेप्रतिको विश्वास र संगठनको अवस्था बलियाे संकेतका रूपमा लिइएको छ।
भेलामा वक्ताहरूले नेकपा एमालेको नीति, सिद्धान्त र राष्ट्रवादी अडानलाई घरघरमा पुर्याउन आग्रह गर्दै एकताबद्ध रूपमा पार्टीका उम्मेदवारलाई विजयी गराउन कार्यकर्तालाई आह्वान गरेका थिए। मधेसमा एमालेविरुद्ध फैलाइएका भ्रमहरू चिर्दै विकास, सुशासन र राष्ट्रिय स्वाभिमानको पक्षमा उभिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा उम्मेदवार तथा परिवर्तनका संवाहकका रूपमा स्थापित युवा नेता रूपेश कुमार पाण्डेले क्षेत्रको समग्र विकासका लागि आफ्नो स्पष्ट भिजन प्रस्तुत गरेका थिए। कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै पर्सा–३ लाई समृद्ध बनाउने प्रतिबद्धता उनले दोहोर्याए।
“राष्ट्र, राष्ट्रियता र जनताको भविष्य सुरक्षित गर्ने शक्ति नेकपा एमाले हो,” पाण्डेले भने, “देश र जनताको हितका लागि एमालेमा मतदान गर्नु आजको आवश्यकता रहेको बताए।
बहुदरमाईसहित पर्सा–३ का विभिन्न स्थानमा भइरहेका भेलाहरू, घरदैलो कार्यक्रम र जनसहभागिताले रूपेश कुमार पाण्डेको पक्षमा जनलहर तीव्र बन्दै गएको देखिन्छ। अनुभवी नेतृत्व, स्पष्ट भिजन र जनतासँगको आत्मीय सम्बन्धका कारण पाण्डे पर्सा–३ मा भरोसा योग्य उम्मेदवारका रूपमा स्थापित हुँदै गएका छन।
स्थानीयवासीहरूका अनुसार यसपटक पर्सा–३ मा परिवर्तन निश्चित देखिएको छ, र त्यो परिवर्तनको नेतृत्व नेकपा एमाले तथा सुर्य ध्वजाका युवा उम्मेदवार रूपेश कुमार पाण्डेले गर्नेमा जनविश्वास बलियो बन्दै गएको छ।
कार्यक्रममा नेकपा एमाले बहुदरमाई नगर कमिटीले प्रतिनिधि सभा सदस्यका उम्मेदवार पाण्डेलाई गम्छा लगाएर स्वागत गरेका थिए।

