काठमाडौँ,१९ माघ । पाकिस्तानी क्रिकेट टोलीका कप्तान सलमान आगाले आगामी ट्वान्टी–२० विश्वकपमा भारतविरुद्ध नखेल्ने निर्णय खेलाडीहरूको नभएको बताएका छन्। अस्ट्रेलियाविरुद्धको ट्वान्टी–२० शृंखला ३–० ले क्लिन स्विप गरेपछि आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले यसबारे प्रतिक्रिया दिएका हुन्।
कप्तान आगाले भने, “त्यो हाम्रो निर्णय होइन। त्यसमा हामीले केही गर्न सक्दैनौँ। सरकार र क्रिकेट बोर्डले जे निर्णय गर्छन्, हामीले त्यहीअनुसार अघि बढ्ने हो।”
पाकिस्तानले आगामी ट्वान्टी–२० विश्वकपमा भारतसँगको खेल बहिष्कार गर्ने औपचारिक घोषणा गरिसकेको छ। पाकिस्तानी सरकारका अनुसार टोलीलाई विश्वकपमा सहभागिताको अनुमति दिइएको छ, तर फेब्रुअरी १५ मा तय गरिएको भारतविरुद्धको खेलमा भने सहभागिता जनाइने छैन।
भारतले फेब्रुअरी ७ देखि सुरु हुने ट्वान्टी–२० विश्वकप श्रीलंकासँग संयुक्त रूपमा आयोजना गर्दैछ। प्रतियोगितामा भारत र पाकिस्तान एउटै समूह ‘ए’ मा परेका छन्।
पाकिस्तान सरकारको उक्त निर्णयपछि विश्वकप थप विवाद र अन्योलमा परेको देखिएको छ। दक्षिण एसियाली भूराजनीतिक परिस्थितिका कारण प्रतियोगिता बहिष्कारदेखि टिम निष्कासनसम्मका विषय चर्चामा आएका छन्।
यसअघि सुरक्षाको कारण देखाउँदै बंगलादेशले भारतीय भूमिमा खेल्न अस्वीकार गरेको थियो। बंगलादेशले आफ्ना खेल भारतबाट श्रीलंकामा सार्न अनुरोध गरे पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले उक्त प्रस्ताव अस्वीकार गर्दै बंगलादेशको स्थानमा स्कटल्यान्डलाई विश्वकपमा सहभागी गराउने निर्णय गरेको थियो।

