भेलामा सहभागी जसपासँग आबद्ध स्थानीय नेताहरूले क्षेत्रभित्र देखिएका समस्या, जनताको आवश्यकता तथा अपेक्षाबारे उम्मेदवार टेमानीलाई अवगत गराएका थिए। उनीहरूले विगतमा विभिन्न नेताहरूलाई निर्वाचित गराए पनि अपेक्षित विकास हुन नसक्दा जनतामा निराशा बढ्दै गएको गुनासो व्यक्त गरे।
कार्यकर्ताहरूले यसपटक विकासमुखी सोच, अनुभव र शिक्षा भएका उम्मेदवारका रूपमा जसपाका अशोक टेमानीलाई अत्यधिक मतले विजयी गराउन मतदातालाई आग्रह गरेका छन्। साथै, अन्य दलका केही नेताहरूले प्रलोभन देखाउँदै भ्रम फैलाउने प्रयास गरिरहेको भन्दै त्यसप्रति सजग रहन समेत आग्रह गरिएको थियो।
पर्सागढी नगरपालिकामा जसपाको सशक्त उपस्थिति रहेको दाबी गर्दै भेलामा सहभागीहरूले फागुन २१ गते हुने निर्वाचनमा पार्टीप्रति दृढ रहन मतदातालाई आह्वान गरे। अन्य पार्टीमा प्रवेश गरेको भन्ने हल्ला निराधार भएको बताउँदै त्यस्ता अफवाहमा नपर्न आग्रह गरिएको थियो।
भेलामा बोल्ने अगुवाहरूले जसपा सधैं जनताको समस्या सुन्ने र समाधानका लागि सक्रिय रहँदै आएको उल्लेख गरे। आगामी दिनमा पनि पार्टी जनसेवामै केन्द्रित रहने प्रतिबद्धता जनाउँदै विकासका लागि जसपाको नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरियो। उनीहरूले छाता छापमा मतदान गर्न मतदातासँग अनुरोध गरे।
कार्यकर्ताहरूले विगतमा केही नेताहरू स्वार्थपूर्तिका लागि मात्र भोट माग्ने र जितेपछि जनताको पीडा बुझ्न नआएको आरोप पनि लगाए। यसपटक भने जनसेवाको स्पष्ट उद्देश्यसहित उम्मेदवार टेमानी घरदैलोमा आएको भन्दै उनलाई अवसर दिनुपर्ने धारणा व्यक्त गरे।
भेलामा उठेका सवाल र गुनासोहरूको जवाफ दिँदै उम्मेदवार अशोक टेमानीले आफू क्षेत्रका समस्या र जनभावनाप्रति जानकार रहेको बताए।
उनले जनताको सेवा गर्ने लक्ष्यसहित नीतिगत तहमा पुग्न निर्वाचनमा सहभागी भएको उल्लेख गरे। विगतदेखि नै सामाजिक सेवामा सक्रिय रहँदै आएको बताउँदै टेमानीले संसदमार्फत जनताको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए र जसपाको छाता छापमा मतदान गर्न मतदातासँग आग्रह गरे।

