बीरगन्ज,२१ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का जेन–जी युवा तथा विद्यार्थीहरूले नेकपा एमालेका उम्मेदवार प्रदीप यादवलाई आगामी प्रतिनिधिसभा निर्वाचनमा विजयी गराउने साझा प्रतिबद्धता व्यक्त गरेका छन्।
बुधबार साँझ वीरगन्जमा आयोजित एक अनौपचारिक भेलामा क्षेत्रका विभिन्न वडाबाट सहभागी युवा–विद्यार्थीहरूले फागुन २१ गते हुने निर्वाचनमा यादवको पक्षमा सक्रिय रूपमा लाग्ने जनाएका हुन्। उनीहरूले यादवलाई जनतासँग नजिक रहेर काम गर्ने नेता भएको उल्लेख गर्दै दिलोज्यान दिएर समर्थन गर्ने प्रतिवद्धता जनाए।
भेलामा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसमेतको उपस्थिति थियो। कार्यक्रममा सहभागी युवाहरूले यादव मौसमी नेता नभई हरेक सुख–दुःख र विपद्मा जनताबीच रहने नेतृत्व भएको भन्दै विगतमा जनहितका लागि गरेका कामको प्रशंसा गरे।
छलफलमा सहभागी युवा किरण गुप्ताले आफ्नो गाउँमा सम्पन्न सडक निर्माण यादवकै पहलबाट सम्भव भएको स्मरण गराउँदै उनलाई विकासमुखी नेताका रूपमा चित्रण गरे। “हामीले हाम्रो मत र समर्थनमार्फत फेरि उहाँलाई पर्सा–१ बाट प्रतिनिधिसभा सदस्य बनाउने प्रतिबद्धता गरेका छौँ,” उनले भने।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका उम्मेदवार प्रदीप यादवले आफू चुनावी समयमै देखिने नेता नभई सधैँ जनताको सुख–दुःखमा साथ दिने नेता भएको दाबी गरे। उनले खानेपानी संकट, हैजा तथा कोरोना महामारीका बेला जनताको सेवामा निरन्तर लागेको स्मरण गराउँदै विगतका कामहरूले आफूलाई प्रमाणित गरेको बताए।
यादवले युवाको सशक्तीकरण, रोजगारी सिर्जना र शिक्षा क्षेत्रमा सुधार आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै भने, “मेरो लक्ष्य केवल चुनाव जित्नु होइन, पर्साको समग्र विकास र जनताको भलाइ सुनिश्चित गर्नु हो। युवा हाम्रो भविष्य हुन्, उनीहरूको आवाज सधैँ प्राथमिकतामा राखिनेछ।”
कार्यक्रममा वीरगन्ज–५ का वडाध्यक्ष प्रदीप चौरसिया, एमालेका अग्रज नेताहरू तथा स्थानीय अगुवाहरूको सहभागिता रहेको थियो।

