वीरगन्ज,२२ माघ । बाराको निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ई. अर्विन्द साहले आज बिहान आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो र मतदाता भेटघाट कार्यक्रम सञ्चालन गरेका छन्।
कलैया उपमहानगरपालिका वडा नं. ६ स्थित बिहारी चौकमा स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै साहले आफ्नो विकास योजना, एजेण्डा र प्रतिबद्धताबारे जानकारी दिएका छन्। उनी युवा उद्यमी समेत रहेका छन् र स्थानीयले उनलाई फूलमाला लगाएर स्वागत गरेका थिए।
स्थानीय मतदाता राजेश यादवले नयाँ नेतृत्व आवश्यक भएको भन्दै साहलाई सक्षम उम्मेदवार ठहराएका छन्। उनले भने, “अब पुराना दलमा मात्र विश्वास गरेर भविष्य अन्धकार बनाउने अवस्था छैन, हामीलाई काम गर्ने प्रतिनिधि चाहिन्छ।”
घरदैलोका क्रममा साहले शिक्षा, स्वास्थ्य, युवा रोजगार, कृषि र पूर्वाधार क्षेत्रमा आफ्नो योजना प्रस्तुत गरेका छन्। उनका अनुसार सामुदायिक विद्यालयको गुणस्तर वृद्धि, प्राविधिक शिक्षा र युवालाई व्यवहारिक तालिम उपलब्ध गराउने, स्थानीय स्वास्थ्य संस्थाको स्तरोन्नति, विपन्न नागरिकका लागि सहज उपचार सेवा, स्वरोजगार प्रवद्र्धन, कृषि आधुनिकीकरण, सडक र सीमावर्ती व्यापार व्यवस्थापनमा जोड दिइनेछ।
साहले मतदाताबाट सुझाव संकलन गर्दै जनताको आवश्यकताअनुसार योजना अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

