बर्दिया,२२ माघ । बर्दियामा चितुवाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–४ तुल्सीपुरका ३५ वर्षीय नन्दु रोकायको बिहीबार दिउँसो चितुवाको आक्रमणका कारण ज्यान गएको हो ।
रोकाय बारबर्दिया नगरपालिका–११ बेलभारस्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न गएका बेला चितुवाले आक्रमण गरेको र घटनास्थलमै उनको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी शिवबहादुर केसीले जानकारी दिए ।
डिभिजन वन कार्यालयका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा चितुवाको आक्रमणबाट सात जनाको मृत्यु भइसकेको छ । यसैगरी सोही अवधिमा बाघ र हात्तीको आक्रमणबाट एक–एक जनाको ज्यान गएको तथ्यांक कार्यालयसँग रहेको छ ।

