देशभरका सबै कारागारको सुरक्षामा सेना खटिँदै

spot_img

काठमाडौँ,२२ माघ । देशभरका सबै कारागारको अस्थायी सुरक्षामा नेपाली सेना एक महिनाका लागि तैनाथ हुने भएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) निर्वाचन सुरक्षामा परिचालन हुने भएपछि कारागार सुरक्षा व्यवस्थापनका लागि सेनालाई जिम्मेवारी दिइएको हो ।

हाल प्रत्येक कारागारमा एक–दुई जना मात्रै प्रहरी राखेर बाँकी प्रहरी फिल्डमा पठाइँदैछ । करिब ८० हजार जनशक्ति रहेको प्रहरीका ७१ हजार र करिब ३७ हजार कार्यरत सशस्त्रका ३५ हजार जनशक्ति २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनमा परिचालन हुँदैछन् ।

निर्वाचनका भित्री र बाहिरी सुरक्षा घेरामा प्रहरी र सशस्त्र तैनाथ हुने भएकाले कार्यालय, ब्यारेक र प्रशासनिक कामका लागि न्यूनतम जनशक्ति राखेर बाँकी सुरक्षा बललाई फिल्डमा केन्द्रित गरिँदैछ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार देशभरका ठूला, मझौला र साना गरी ७५ कारागारमा सेना परिचालन हुनेछ । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले सेनालाई कारागार सुरक्षा जिम्मेवारी निर्वाचन अवधिभर दिने तयारी भइरहेको बताए ।

करीब १ लाख जनशक्ति कार्यरत सेनामध्ये ८० हजार जनशक्ति निर्वाचन सुरक्षामा बुधबारदेखि खटाउने तयारी भएको छ । सेनालाई बाहिरी सुरक्षा व्यवस्थापन, हवाई तथा संयुक्त गस्ती, मतपेटिका र निर्वाचन सामग्री ढुवानीजस्ता कार्यमा परिचालन गरिनेछ ।

spot_img

ताजा अपडेट

लोकप्रिय