बीरगन्ज,२२ माघ । भूमि समस्या समाधान आयोग जिल्ला समिति पर्साले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको लागत फारम इन्ट्री प्रक्रियालाई प्रभावकारी बनाउन एकदिने कम्प्युटर तालिम सम्पन्न गरेको छ।
तालिम आयोगका सदस्य–सचिव राकेश झाको अध्यक्षतामा सम्पन्न भएको थियो। समापन कार्यक्रममा जिल्ला अध्यक्ष तबरेज अहमद प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा सदस्य सन्तोष राम, सदस्य शिव नारायण राम र सम्बन्धित प्राविधिकहरूले पनि सक्रिय सहभागिता जनाएका थिए।
सम्बोधन गर्दै अध्यक्ष अहमदले भने, “भूमिहीन समस्या केवल प्रशासनिक विषय नभई सामाजिक न्याय र नागरिक अधिकारसँग प्रत्यक्ष जोडिएको छ। लालपूर्जा उपलब्ध गराउने अभियान सरकारको प्राथमिकतामा छ। तथ्याङ्कको शुद्धता, प्रविधिको सही प्रयोग र दक्ष जनशक्ति यसमा निर्णायक भूमिका खेल्छ।”
उहाँले कम्प्युटर तालिमले लागत फारम इन्ट्री प्रक्रियालाई छिटो, पारदर्शी र त्रुटिरहित बनाउनेमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे। साथै, स्थानीय तह, प्राविधिक र आयोगबीचको समन्वय र सहकार्यबिना लक्ष्य हासिल गर्न नसकिने उल्लेख गर्दै तालिम प्राप्त जनशक्तिले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए।
तालिमका क्रममा प्राविधिकहरूले लागत फारम इन्ट्री प्रक्रिया, डाटा व्यवस्थापन, प्रविधिको प्रयोग, त्रुटि सच्याउने विधि र प्रतिवेदन तयारीबारे व्यावहारिक ज्ञान प्रदान गरेका थिए।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले तालिम उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिँदै यसले काममा आत्मविश्वास वृद्धि गरेको बताएका छन्।

