वीरगन्ज,२६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले आवश्यक तयारीलाई तीव्र बनाएको छ। निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले प्रशासनले दुई जना आचारसंहिता अनुगमन अधिकृत नियुक्त गरेको जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेल र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मनोजकुमार जोशीलाई अनुगमन अधिकृतको जिम्मेवारी दिइएको हो। निर्वाचन आयोगको निर्णय तथा निर्वाचन आचारसंहिता २०८२ अनुसार उनीहरूलाई उक्त जिम्मेवारी सुम्पिएको प्रशासनले जनाएको छ। आचारसंहिता उल्लंघन हुने कुनै गतिविधि देखिएमा तुरुन्त जानकारी गराउन प्रशासनले सर्वसाधारणलाई आग्रह समेत गरेको छ।
यसैबीच, निर्वाचनको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरूले मतदानस्थलको स्थलगत निरीक्षण सुरु गरेका छन्। आइतबार टोलीले धोविनी गाउँपालिकाका पाँच वडामा रहेका सात वटा मतदानस्थलको अवस्था तथा तयारीबारे अवलोकन गरेको थियो।
निरीक्षण टोलीमा चारवटै सुरक्षा निकाय तथा निर्वाचन कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो।

