वीरगंज – राष्ट्रिय सम्पदा तथा सार्वजनिक सम्पत्ति संरक्षण मञ्च पर्साका अध्यक्ष ७३ वर्षीय जाफर अन्सारी र महासचिव ६३ वर्षीय मंजरुलहक मियाँ विरुद्ध दायर अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
गत वैशाख ३० गते अधिवक्ता प्रभाकर मण्डलले दायर गरेको मुद्दा नम्बर ०८२ एपी ०६४१ अन्तर्गत सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र शान्ति सिंह थापाको संयुक्त इजलासले पत्र प्राप्त भएको मितिले सात दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो ।
सर्वोच्च अदालतले जेठ ४ गते जारी गरेको आदेशमा प्रेस विज्ञप्ति प्रकाशन तथा प्रसारणमार्फत अदालतको गरिमा, निष्पक्षता र न्याय सम्पादन प्रक्रियामा नकारात्मक असर पर्ने कार्य भएको उल्लेख गर्दै अवहेलना सम्बन्धी कारबाहीको माग गरिएको जनाइएको छ ।
आदेशमा भनिएको छ, “निवेदकको मागअनुसार आदेश किन जारी हुनु नपर्ने हो ? यदि आदेश जारी हुन नपर्ने भए त्यसको स्पष्ट आधार र कारणसहित, बाटोको म्याद बाहेक सूचना प्राप्त भएको सात दिनभित्र आफैं वा कानुनबमोजिम प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नू।”
उक्त विवाद नेशनल मेडिकल कलेजसँग सम्बन्धित पुरानो कानुनी प्रकरणसँग जोडिएको हो । २०५६ सालमा सर्वोच्च अदालतमा दायर उत्प्रेषणयुक्त प्रतिषेध रिटमार्फत नेशनल मेडिकल प्रालिले शिक्षा मन्त्रालय तथा उच्च प्राविधिक शिक्षा तथा अनुमति समितिबाट प्राप्त गरेको स्वीकृतिसम्बन्धी विषय उठाइएको थियो ।
मुद्दामा नेपाल मुस्लिम वेलफेयर सोसाइटीले दिएको मनसायपत्रको दुरुपयोग गरी नेशनल मेडिकल कलेज प्रालि दर्ता गरिएको आरोप लगाउँदै संस्थामा आफ्नो अधिकार पुनःस्थापना गर्न माग गरिएको थियो ।
तर सर्वोच्च अदालतबाट सोसाइटीको पक्षमा फैसला नभएपछि काठमाडौं जिल्ला अदालतमा दायर जालसाजी मुद्दामा समेत वादी पक्षको दाबी पुष्टि हुन नसकेको फैसला भएको उल्लेख छ । उक्त मुद्दा पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालतसम्म पुगे पनि निवेदनले निस्सा प्राप्त गर्न नसकेको र अन्ततः फैसला विपक्षीकै पक्षमा गएको जनाइएको छ ।



