बीरगन्ज,०५ जेठ । पर्सामा रोजगार सेवा केन्द्र (ESC) लाई थप प्रभावकारी बनाउने उद्देश्यले “Strengthening of Employment Service Center in Nepal (SECS)” परियोजनासम्बन्धी अन्तरक्रिया कार्यक्रम साेमवार सम्पन्न भएको छ।
वीरगञ्ज उद्योग वाणिज्य संघ, पर्साका अध्यक्ष हरीप्रसाद गौतमको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमले रोजगार सेवा केन्द्रको सञ्चालनलाई व्यवस्थित, समन्वयात्मक र परिणाममुखी बनाउने रणनीतिमा केन्द्रित छलफल गरेको थियो।
नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) र अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) बीच संयुक्त रूपमा सञ्चालन भइरहेको SECS परियोजनाले निजी क्षेत्रको सक्रिय सहभागितामार्फत रोजगार सेवा केन्द्रलाई सुदृढ बनाउने लक्ष्य राखेको छ। सोही सन्दर्भमा मधेश प्रदेशका सरोकारवालाबाट सुझाव, प्रतिक्रिया तथा सिफारिस संकलन गर्न कार्यक्रम आयोजना गरिएको जनाइएको छ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिका, जीतपुर सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका लगायत विभिन्न स्थानीय तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। FNCCI का प्रतिनिधि हरि पौडेल र महेश दाहालले कार्यक्रम सञ्चालन तथा सहजीकरण गरेका थिए।
अन्तरक्रियामा उद्योग व्यवसायी, तालिम प्रदायक संस्था, रोजगार सेवा प्रदायक तथा निजी क्षेत्रका विभिन्न प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूलाई समूहगत छलफलमा सहभागी गराउँदै रोजगार खोज्ने व्यक्ति, तालिम प्रदायक संस्था र उद्योग क्षेत्रबीच प्रभावकारी समन्वय कसरी स्थापित गर्न सकिन्छ भन्ने विषयमा प्रस्तुति पनि गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले रोजगार सेवा केन्द्रलाई संघीय, प्रदेश र स्थानीय तहका सरकार, निजी क्षेत्र तथा तालिम प्रदायक संस्थाबीचको सेतुका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए। साथै, सीप विकास, रोजगारीको अवसर विस्तार र श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादनमा केन्द्रित कार्यक्रम आवश्यक रहेको धारणा समेत व्यक्त गरिएको थियो।
कार्यक्रमले रोजगार सेवा केन्द्रलाई प्रभावकारी, पहुँचयोग्य र परिणाममुखी बनाउने दिशामा महत्वपूर्ण सुझावहरू संकलन गरेको आयोजकले जनाएको छ।



