काठमाडौँ – डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म त्यसका बन्दरगाहमाथि लगाइएको नाकाबन्दी नहटाइने स्पष्ट पारेका छन्। युद्ध अन्त्यका लागि फेरि वार्ता हुन्छ कि हुँदैन भन्ने अन्योल कायम रहँदा ट्रम्पको यस्तो कडा अभिव्यक्ति आएको हो।
एक हप्ताअघि सुरु गरिएको अमेरिकी नाकाबन्दीले इरानलाई “पूर्ण रूपमा कमजोर बनाइरहेको” दाबी गर्दै ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रूथ सोसल’मार्फत अमेरिका यस द्वन्द्वमा अघि रहेको र जिततर्फ अग्रसर रहेको बताएका छन्।
अमेरिका–इरानबीच भएको अस्थायी युद्धविराम बुधबार समाप्त हुँदैछ। शान्ति वार्ताको दोस्रो चरण पाकिस्तानमा हुने चर्चा भए पनि त्यसबारे अझै स्पष्टता आएको छैन। वार्ताको तयारीस्वरूप पाकिस्तानको राजधानीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। यद्यपि अमेरिकी टोलीको नेतृत्व गर्ने भनिएका उपराष्ट्रपति जेडी भान्स अझै वासिङ्टनबाट प्रस्थान गरेका छैनन् भने इरानले पनि सहभागिताबारे अन्तिम निर्णय लिएको छैन।
अमेरिकी सेन्ट्रल कमान्डका अनुसार नाकाबन्दी सुरु भएयता २७ वटा जहाजलाई इरानी बन्दरगाहतर्फ जानबाट रोक्दै फर्काइएको छ। आइतबार मात्रै अमेरिकाले नाकाबन्दी उल्लंघन गर्न खोजेको इरानी झण्डावाहक एक मालबाहक जहाजलाई पहिलोपटक नियन्त्रणमा लिएको जनाएको छ।
सार्वजनिक गरिएको भिडियोमा अमेरिकी सेनाले जहाजलाई चेतावनी दिएपछि हेलिकप्टरमार्फत सैनिकहरू ओर्लिएर नियन्त्रणमा लिएको देखिन्छ। यस कदमप्रति इरानले कडा आपत्ति जनाउँदै प्रतिवाद गर्ने चेतावनी दिएको छ, जसका कारण खाडी क्षेत्रमा थप तनाव बढ्ने संकेत देखिएको छ।

