जनकपुर,११ जेठ । बहुचर्चित सुजिता ठाकुर हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीले मुख्य आरोपी ठहरिएका मृतकका देवर रुपेश ठाकुरलाई जन्मकैदको सजाय सुनाएको छ । अदालतले घटनामा संलग्न भनिएका अन्य १० जनालाई भने सफाइ दिएको छ ।
जिल्ला अदालत महोत्तरीका सूचना अधिकारी भरतमणि पोखरेलका अनुसार न्यायाधीश तीर्थराज केसीको इजलासले व्यक्ति बेपत्ता तथा ज्यानसम्बन्धी कसुर मुद्दामा उक्त फैसला सुनाएको हो ।
अदालतबाट सफाइ पाउनेहरूमा कामेश्वर पाण्डे, अञ्जु कुमारी चौधरी, मोहम्मद अदम राइन, किशोरी मण्डल, विनोद मण्डल, नथुनी मण्डल, प्रिया ठाकुर, रामसखी देवी, पतिराम ठाकुर र भोगी महतो रहेका छन् ।
त्यसैगरी आरोपी उत्तम खत्वे र दुखी महतो नुनियाको हकमा मुद्दा मुल्तबी गरिएको अदालतले जनाएको छ ।
अदालतले दोषी ठहरिएका रुपेश ठाकुरलाई जन्मकैद सजाय सुनाउनुका साथै पीडित परिवारलाई क्षतिपूर्तिस्वरूप ५० हजार रुपैयाँ उपलब्ध गराउन र पीडित राहत कोषमा दुई हजार ८०० रुपैयाँ जम्मा गर्न आदेश दिएको छ ।
लोहारपट्टी नगरपालिका–७ भ्रमरपुरा निवासी मुकेश ठाकुरकी २६ वर्षीया पत्नी सुजिता ठाकुर २०७८ साल जेठ २० गते रातिदेखि बेपत्ता भएकी थिइन् । लामो अनुसन्धानपछि देवर रुपेश ठाकुरसहितका व्यक्तिले हत्या गरी शव लुकाएको तथ्य खुलेको थियो ।
प्रहरी अनुसन्धानअनुसार हत्या पश्चात् शव सुरुमा घरको फ्रिजमा राखिएको थियो । त्यसपछि शवलाई गाउँ नजिकैको मनरहिया वन क्षेत्रमा गाडिएको र पछि फेरि निकालेर पेट्रोल पम्पको सेफ्टी ट्याङ्कीमा लुकाइएको अवस्थामा बरामद गरिएको थियो ।
घटनाले त्यतिबेला देशव्यापी चर्चा पाएको थियो भने अदालतको पछिल्लो फैसलालाई बहुचर्चित हत्या प्रकरणको महत्वपूर्ण निष्कर्षका रूपमा हेरिएको छ ।



