काठमाडौँ,११ जेठ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध जारी गरिएको पक्राउ पुर्जीविरुद्ध दायर रिटमाथिको सुनुवाइ आज न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा हुने भएको छ ।
यसअघि जेठ ५ गते न्यायाधीश मेघराज पोखरेलको इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो । अदालतले १५ दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको थियो ।
सर्वोच्च अदालतले पक्राउ पुर्जी कार्यान्वयन रोक्ने वा नरोक्ने भन्ने विषयमा अन्तरिम आदेश जारी गर्ने सम्बन्धमा दुवै पक्षलाई आज छलफलका लागि बोलाएको हो ।
देउवाको तर्फबाट दायर गरिएको रिटमा पक्राउ प्रक्रिया गैरकानुनी तथा संवैधानिक अधिकारविपरीत रहेको दाबी गरिएको छ । उनले अनुसन्धानमा सहयोग गर्न तयार रहेको, सम्पत्तिको स्रोत खुलाउन इच्छुक रहेको तथा पक्राउ गर्नुपर्ने अवस्था नरहेको जिकिर गरेका छन् ।
देउवा विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । देउवा अहिले देश बाहिर रहेका छन् ।
हाल देउवा देश बाहिर रहेका छन् । पक्राउ पुर्जीविरुद्ध परेको रिटमाथिको आजको सुनुवाइलाई राजनीतिक तथा कानुनी दुवै दृष्टिले चासोका साथ हेरिएको छ ।



