बीरगन्ज,०९ फागुन । नेकपा एमाले ले पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि रुपेशकुमार पाण्डेय लाई उम्मेदवार बनाएको छ। ४९ वर्षीय पाण्डेय व्यवसायिक पृष्ठभूमिका नेता हुन् र काठमाडौंस्थित आरपी ग्रुप अफका प्रबन्ध निर्देशकका रूपमा कार्यरत छन्।
पाण्डेय अन्तर्राष्ट्रिय स्तरका दर्जनौं ब्रान्डका कपडा, जुत्ता र एक्सेसरीज नेपालमा भित्र्याउने व्यवसायसँग आबद्ध छन्। निजी क्षेत्रबाट स्थापित पहिचान बनाएका उनी अब सक्रिय रूपमा संघीय राजनीतिमा प्रवेश गर्दै पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका हुन्।
राजनीतिक रूपमा उनी यसअघि क्षेत्रीय स्तर र पार्टी संगठनमा सक्रिय रहँदै आएका थिए। उनका परिवारको पनि राजनीतिक पृष्ठभूमि रहेको छ। उनका पिता वृजमोहन पाण्डे २०७४ सालमा नेपाली कांग्रेस बाट पकहामैनपुर गाउँपालिका–२ का वडाअध्यक्षमा निर्वाचित भएका थिए।
यसपटक पाण्डेयले पर्सा–३ लाई नमुना निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने र युवा नेतृत्वमार्फत सकारात्मक परिवर्तन ल्याउने लक्ष्यसहित उम्मेदवारी दिएका छन्। अघिल्लो निर्वाचनमा एमालेबाट विजयी भएका राजकुमार गुप्ता भ्रष्टाचार मुद्दामा थुनामा परेपछि पार्टीले पाण्डेयलाई नयाँ उम्मेदवारको रूपमा अघि सारेको हो।
पार्टीले नयाँ अनुहार र व्यवसायिक अनुभवलाई प्राथमिकता दिँदै पाण्डेयलाई उम्मेदवार बनाएको बताइएको छ, जसले पर्सा–३ को राजनीतिक प्रतिस्पर्धालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ।

