spot_img

झापामा चुनावी रिपोर्टिङका क्रममा पत्रकारमाथि कुटपिट

spot_img
spot_img

विराटनगर,१५ फागुन ।  झापाको कमल गाउँपालिकामा चुनावी रिपोर्टिङमा खटिएका एक पत्रकारमाथि कुटपिट भएको छ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा झापा–५ का उम्मेदवार केपी शर्मा ओलीको घरदैलो कार्यक्रम कभरेज गर्न पुगेका पत्रकार अर्जुन आचार्यमाथि एमालेसम्बद्ध स्वयंसेवक समूहका व्यक्तिहरूले हातपात गरेको आरोप लागेको हो।

जीवन चोक क्षेत्रमा बिहीबार दिउँसो भएको घटनामा आचार्यले घरदैलोका क्रममा केही कार्यकर्ता र स्थानीय महिलाबीचको दृश्य भिडियोमा खिच्न खोज्दा विवाद सुरु भएको बताइएको छ। ‘किन खिचेको?’ भन्दै स्वयंसेवक समूहले आक्रमण गरेको आचार्यसँगै रहेका पत्रकार अमृत चिमरियाले जानकारी दिए।

कुटपिटबाट आचार्यको आँखा, गाला र ढाडमा चोट लागेको जनाइएको छ। साथै, आक्रमणकारीले उनको मोबाइल फोनसमेत खोसेर लगेका छन्। घटनामा संलग्न समूह २५६१ नम्बरको स्कर्पियो गाडीमा सवार रहेको प्रत्यक्षदर्शीको भनाइ छ।

विराटनगरबाट कोशी प्रदेशमा रिपोर्टिङ गर्दै आएका आचार्य समाचार संस्था रातोपाटीसँग आबद्ध छन्। घटनाप्रति आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघ मोरङ शाखाकी अध्यक्ष सुशीला पाठकले दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेकी छन्।

उनले रिपोर्टिङमा रहेका पत्रकारमाथि आक्रमण हुनु प्रेस स्वतन्त्रताविरुद्धको कार्य भएको उल्लेख गर्दै राज्यले पत्रकारलाई सुरक्षित र निर्बाध रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताएकी छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय