भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार

spot_img

बीरगन्ज,०२ वैशाख । भारतबाट किनमेल गरेर नेपाल ल्याइने सामानमा अब कडाइ गरिएको छ। सरकारले नयाँ नियम लागू गर्दै १०० रुपैयाँभन्दा बढी मूल्यका वस्तु ल्याउँदा अनिवार्य रूपमा भन्सार तिर्नुपर्ने व्यवस्था लागू गरेको हो।

भन्सार विभागका अनुसार अर्थ मन्त्रालयले संशोधन गरेको ‘यात्रुको भन्सार सुविधा’ सम्बन्धी नियम कार्यान्वयनमा आएसँगै सीमा नाकामा कडाइ सुरु गरिएको छ। यसअघि यस्ता साना किनमेलमा व्यवहारतः भन्सार नलाग्ने प्रचलन भए पनि अब त्यसलाई नियन्त्रण गर्ने नीति लिइएको हो।

मधेश प्रदेशका विभिन्न सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मीले माइकिङमार्फत सर्वसाधारणलाई सचेत गराउँदै आएका छन्। भारतबाट किनमेल गरी फर्किँदा १०० रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याएमा अनिवार्य रूपमा भन्सार घोषणा गर्नुपर्ने जानकारी दिइँदै आएको छ।

भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काका अनुसार नयाँ नियम राजपत्रमा प्रकाशित भएसँगै मातहतका सबै कार्यालयलाई कार्यान्वयनका लागि निर्देशन दिइएको छ। “अब सीमावर्ती बजारबाट गरिने किनमेलमा पनि मूल्यअनुसार भन्सार तिर्नैपर्छ,” उनले बताए।

सरकारले यो कदम नेपाली बजार र उद्योगी–व्यापारीलाई संरक्षण गर्न चालिएको जनाएको छ। भारतीय बजारमा सस्तो किनमेल गर्ने प्रवृत्तिले नेपाली बजार प्रभावित भएको गुनासो बढेपछि नियम कडा बनाइएको हो।

विशेषगरी चाडपर्व, बिहे–ब्रतबन्ध जस्ता अवसरमा ठूलो परिमाणमा सामान भारतबाट ल्याइने चलनले आन्तरिक व्यापारमा असर परेको भन्दै सरोकारवालाले कडाइको माग गर्दै आएका थिए।

नियमअनुसार हवाई मार्गबाट आउने यात्रुका लागि भने छुट्टै सुविधा कायम छ। साथै भारत र चीनमा अध्ययनरत विद्यार्थी तथा भारतीय सेनामा कार्यरत नेपालीका लागि केही वस्तु ल्याउन विशेष सुविधा दिइएको छ।

भन्सार विभागले कर नतिरी हुने अनौपचारिक किनमेललाई नियन्त्रण गर्दै स्वदेशी बजारलाई सुदृढ बनाउने लक्ष्य राखेको जनाएको छ। अधिकारीहरूका अनुसार नयाँ नियमले सीमापार हुने अनियन्त्रित किनमेलमा कमी आउने अपेक्षा गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय