झापा,१५ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले वर्तमान सरकारले अझै निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको आरोप लगाएका छन्। झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको ‘बा सँग विद्यार्थी’ कार्यक्रममा बोल्दै उनले देशको सार्वभौम संसद् विघटनपछि मुलुक संकटतर्फ धकेलिएको दाबी गरे। उनले सो संकटबाट देशलाई मुक्त गराउन एमाले चुनावी मैदानमा उत्रिएको बताए।
“एमाले चुनावबाट भाग्दैन, बरु जनतामाझ गएर समस्याको समाधान खोज्छ,” ओलीले भने, “आगामी निर्वाचनबाट एमाले पहिलो शक्ति बन्छ र देशमा देखिएका समस्याको समाधान निकाल्छ।” पूर्वप्रधानमन्त्री ओलीले चुनावमा कुनै पनि प्रकारको धाँधली स्वीकार्य नहुने चेतावनी दिँदै निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन सरकार गम्भीर हुनुपर्ने बताए।
कार्यक्रममा सहभागी युवा–विद्यार्थीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै उनले कुनै पनि दलको भूमिका उसको सिद्धान्त, कार्यक्रम र एजेन्डाले निर्धारण गर्ने उल्लेख गरे। एमालेका नीति तथा कार्यक्रम जनतासम्म स्पष्ट रूपमा पुर्याउन उनले कार्यकर्तालाई सुझाव दिए।
युवाहरूलाई भ्रमपूर्ण प्रचारबाट सावधान रहन र सत्यतथ्यमा आधारित राजनीतिक बहसमा सक्रिय हुन उनले आग्रह गरेका छन्।

