जुम्ला,२२ फागुन । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत जुम्ला जिल्लामा जारी मतगणनाको प्रारम्भिक परिणाममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाही ले फराकिलो अग्रता बनाएका छन्।
कनकासुन्दरी गाउँपालिका का वडा नम्बर १, २, ३ र ४ को मतगणना सकिँदै जाँदा शाहीले बलियो स्थिति बनाएका हुन्। हालसम्म २ हजार ७८८ मत गणना हुँदा उनले १ हजार ४५८ मत प्राप्त गर्दै पहिलो स्थान कायम गरेका छन्। प्रारम्भिक मतपरिणामअनुसार उनी आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा ७ सयभन्दा बढी मतले अगाडि रहेका छन्।
मतगणनाको हालसम्मको विवरणअनुसार नरेश भण्डारी (नेकपा) ले ७५७ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन्। उनी शाहीभन्दा ७०१ मतले पछाडि परेका छन्।
त्यसैगरी दीपबहादुर शाही (नेपाली कांग्रेस) ले ३४९ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्। अन्य प्रतिस्पर्धीहरूमा शान्तिलाल महत ले ११२ मत तथा बिनिता कठायत ले २३ मत प्राप्त गरेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ७४ मत बदर भएका छन्।
बिहीबार सम्पन्न निर्वाचनमा जुम्लामा कुल ७१ हजार ७३९ मतदाता सूचीकृत थिए। तीमध्ये ४० हजार ८९७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

