काठमाडौँ,२३ फागुन । प्रतिनिधिसभा निर्वाचनमा एमाले शीर्ष नेतृत्वले नै पराजय भोग्नुपरेको छ । जारी मतगणनामा अध्यक्ष केपी शर्मा ओली पराजय उन्मुख छन् ।
झापा–५ का उम्मेदवार उनी रास्वपाका बालेन्द्र शाहभन्दा ४० हजार ५२५ मतले पछाडि छन् । शाहले ५५ हजार ९३४ मत ल्याउँदा ओलीको मत १५ हजार ४०९ मात्रै छ । उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल, सचिव महेश बस्नेत, भानुभक्त ढकाल, राजन भट्टराईले हार बेहोरिसकेका छन् । अर्का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले पनि जित्ने सभावना छैन । दुई उपमहासचिव रघुबीर महासेठ प्रतिस्पर्धामा निकै पछि परिसकेका छन् । अहिलेसम्म एमालेले बाँके–२ बाट मोहम्मद इश्तियाक राई र बझाङबाट ऐनबहादुर महरले जितेका छन् । एमाले अहिलेसम्म ९ स्थानमा मात्र अग्रता लिएको छ ।
२०७९ को निर्वाचनमा ७८ सिट सहित दोस्रो र समानुपातिक मतमा पहिलो दल बनेको एमालेका लागि यो हार अनेपेक्षित मात्र छैन, पार्टी नेतृत्व, नीति र कार्यक्रमप्रति पनि गम्भीर प्रश्न उठेको छ । निर्वाचनको सम्पूर्ण परिणाम आएपछि समीक्षा गर्ने एमालेको तयारी छ । एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले एमालेको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षाअनुरुप पुनर्गठन गर्न अग्रसरता लिने प्रतिबद्धता व्यक्त गरेका छन् । रूपन्देही–२ मा पराजित भएपछि उनले सामाजिक सञ्जालमार्फत एमालेको नीति, नेतृत्व, संगठनको कायैशैली बदल्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले निर्वाचनको परिणामबाट विचलित नहुन पार्टीपंक्तिलाई आह्वान पनि गरेका छन् ।
‘विगतमा हाम्रा तर्फबाट भएका गल्तीकमजोरीहरूको गम्भीर समीक्षा गर्न, जनअपेक्षाअनुसार आफैलाई रूपान्तरण गर्न र एमालेको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षाअनुरूप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भइरहने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भनेका छन्, ‘लोकतन्त्रको सुन्दरता नै जनताको अभिमत हो र म रुपन्देही–२ का आदरणीय मतदाताहरूको फैसलालाई सविनय र सहर्ष स्वीकार गर्छु ।’ ०४६ सालको आन्दोलनपछि शक्तिका रुपमा उदाएको एमालेले २०४८ ९२०५ मध्ये ६९० मा दोस्रो, २०५१ ९२०५ मध्ये ८८० मा पहिलो, २०५६ मा ९२०५ मध्ये ७१० दोस्रो, २०६४ मा ६०१ सिटमा (प्रत्यक्षमा ३३ र समानुपातिक ७० गरी १०३)तेस्रो, २०७० मा ६०१ (प्रत्यक्षमा ९१ र समानुपातिक ८४ गरी १७५) दोस्रो, संविधान जारी भएपछि भएको पहिलो आम निर्वाचनमा २०७४ मा (प्रत्यक्ष ८० र समानुपातिक ४१ सहित १२१ सिट) ल्याएको थियो । एमाले र माओवादी ९प्रत्यक्ष ३६ र समानुपातिक १७० बीच एकता भएपछि बनेको नेकपा प्रतिनिधिसभामा १७४ सिट पुगेको थियो । २०७९ मा ७८ सिटसहित मा दोस्रो दल बनेको थियो । ठूलो मतान्तरको पराजय रुपन्देही–२ मा एमाले उपाध्यक्ष विष्णु पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेलबाट पराजित भएका छन् ।
खरेलले ५६ हजार ५ सय ५० मत ल्याए भने पौडेल १२ हजार ८ सय ६१ मतमै सीमित रहे । गत निर्वाचनमा उनी यस क्षेत्रबाटै विजयी भएका थिए । त्यस्तै, भक्तपुर २ मा एमाले सचिव महेश बस्नेत पराजित भए । रास्वपाका राजीव खत्रीले ३४ हजार ७ सय २ र बस्नेतले ८ हजार तीन सय ५१ मत ल्याए । काठमाडौं–५ मा एमाले ईश्वर पोखरेल रास्वपाका सस्मित पोखरेलसँग २६ हजार ३६ मतान्तरले पराजित भए । गुल्मी(२ मा पार्टी उपाध्यक्ष गोकर्णराज विष्ट रास्वपाका गोविन्द पन्थीसँग पराजित भएका छन् । पन्थीले १६ हजार ९ सय ६७ मत ल्याउँदा विष्टले १६ हजार ४ सय ६ मत ल्याए । बिष्ट र पन्थीबीच निकट प्रतिस्पर्धा रहृयो । पन्थीले ५ सय ६१ मतान्तरले विष्टलाई पराजित गरेका हुन् ।
सचिव भानुभक्त ढकालले पनि तेह्रथुमबाट पराजय भोग्नुपर्यो । कांग्रेसका सन्तोष सुब्बासँग उनी पराजित भएका हुन् । सुब्बाले ११ हजार ५ सय ६१ मत ल्याए भने ढकालले १० हजार ६ सय ८२ मत पाएका थिए । अर्का सचिव राजन भट्टराई काठमाडौं–४ मा तेस्रो स्थानमा खुम्चिए । रास्वपाका पुकार बम २९ हजार १४२ मत ल्याएर विजयी भए भने कांग्रेसका सचिन तिमल्सेनाले ८,८२४ मत पाएका थिए । भट्टराईले ५ हजार ७ सय ३३ मत मात्रै प्राप्त गरे । लमजुङमा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ रास्वपाका धर्मराज केसीभन्दा धेरै पछि छन् । केसी १६ हजार ५ सयभन्दा बढी मतान्तरले अघि छन् । कैलाली–३ मा उपमहासचिव लेखराज भट्ट तेस्रो स्थानमा छन् । उनी रास्वपाका खेमराज कोइराला, गोरखबहादुर विष्टभन्दा धेरै पछि छन् । धनुषा–४ मा रघुवीर महासेठ तेस्रो स्थानमा छन् । उनीभन्दा माथि रास्वपाका राजकिशोर महतो र कांग्रेसका महेन्द्र यादव छन् । रास्वपाका महतो १७ हजारभन्दा बढी मतले अघि छन् । सचिव शेरधन राई भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राईभन्दा पछि छन् ।

