जनकपुर,२३ फागुन । प्रतिनिधिसभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार मनिष झा भारी मतान्तरसहित विजयी भएका छन्। उनले ४३ हजार ९८८ मत प्राप्त गरे, जबकी उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस का बिमलेन्द्र निधिले १६ हजार ६५२ मत मात्र पाएका छन्। तेस्रो स्थानमा नेकपा एमाले की जुली महतो रहिन्, जसले ९ हजार ७८६ मत प्राप्त गरिन्।
विजयी भएपछि झा जनकपुरधामस्थित जानकी मन्दिरमा पूजापाठ गरी माता जानकीको आशिर्वाद लिएका छन्। सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले धनुषाको हरेक क्षेत्रको विकासमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।
झाले बताए, “खानेपानी, सरसफाई, पर्यावरण, भौतिक संरचना, संस्कृतिक धरोहरको संरक्षण, जनकपुर रेल्वे र एयरपोर्टलाई आर्थिक लाभ लिनसक्ने केन्द्रका रूपमा विकास गर्ने प्रक्रिया अघि बढाइन्छ।”
उनले थपे, “राजनीतिमा चुनौतीहरू र प्राथमिकता समय अनुसार परिवर्तन हुँदै जाने हुँदा, सरकार र सदन गठनपछि पार्टीले तय गरे अनुसार क्याबिनेटमा बस्ने वा नबस्ने निर्णय हुनेछ। सक्षम व्यक्तित्वको अभाव छैन, त्यसैले मन्त्री र मन्त्रालयको बाँडफाँट क्षमता अनुसार हुनेछ।”
झाले सार्वजनिक गरेको रास्वपा को १०० बुँदे प्रतिवद्धता पत्र धनुषाका लागि पनि लागू रहने तर थप आवश्यक कार्यहरू पनि प्राथमिकतामा रहने बताए। उनले गठबन्धनका विषयमा स्पष्ट गर्दै भने, “सैद्धान्तिक एजेन्डा अनुसार सहयोग गर्न इच्छुक दललाई स्वागत गरिन्छ, तर संख्यात्मक गठबन्धन नगर्ने निर्णय छ।”

