काठमाडौं,२६ फागुन । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरहरूमा वायु प्रदूषण अत्यधिक बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ले नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। मन्त्रालयले वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल गरेको हो।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी का अनुसार काठमाडौं, पोखरा, विराटनगर लगायत तराईका विभिन्न क्षेत्रमा हावामा हानिकारक सूक्ष्म कण पीएम २.५ को मात्रा उल्लेखनीय रूपमा बढेको छ। श्वासप्रश्वास वा छालामार्फत शरीरभित्र प्रवेश गर्ने यी कणहरूले मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्ने उनले बताएका छन्।
मन्त्रालयका अनुसार प्रदूषणबाट ज्येष्ठ नागरिक, गर्भवती महिला, पाँच वर्षमुनिका बालबालिका र दीर्घरोगी बढी जोखिममा रहने भएकाले उनीहरूले विशेष सतर्कता अपनाउनुपर्नेछ।
बिहान र बेलुका बाहिर ननिस्कन सुझाव
प्रदूषणबाट जोगिन विशेषगरी बिहान र बेलुकाको समयमा घरबाहिर ननिस्कन मन्त्रालयले सुझाव दिएको छ। यस समयमा हानिकारक कणहरू वायुमण्डलको तल्लो तहमा बढी जम्मा हुने भएकाले मर्निङ वाक वा इभिनिङ वाक नगर्न आग्रह गरिएको हो।
बाहिर निस्कनै परेमा अनिवार्य रूपमा मास्क प्रयोग गर्न, आँखा जोगाउन चस्मा लगाउन तथा छालालाई सुरक्षित राख्न पूरै शरीर ढाकिने कपडा र टोपी प्रयोग गर्न मन्त्रालयले सुझाव दिएको छ।
प्रदूषण नियन्त्रणका लागि अन्तरमन्त्रालय समन्वय
वायु प्रदूषण नियन्त्रणका लागि मन्त्रालयले अन्य सरोकारवाला निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ। उद्योग, भौतिक पूर्वाधार, कृषि, वन तथा वातावरण सम्बन्धी निकायसँग प्रदूषण न्यूनीकरणका उपायबारे निरन्तर छलफल भइरहेको प्रवक्ता बुढाथोकीले बताए।
गाडीबाट निस्कने धुवाँ, कलकारखानाबाट हुने प्रदूषण, कृषिमा अत्यधिक विषादी प्रयोग, जथाभावी फोहोर तथा प्लास्टिक जलाउने प्रवृत्ति र वन डढेलो नियन्त्रण नभएसम्म समस्या समाधान हुन कठिन हुने मन्त्रालयको भनाइ छ। तत्कालका लागि भने प्रदूषणको प्रत्यक्ष असरबाट जोगिन व्यक्तिगत सावधानी अपनाउनु नै उत्तम विकल्प भएको मन्त्रालयले जनाएको छ।

