सर्लाही,२० चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन भइरहेका बेला परीक्षा हलमै मोबाइल प्रयोग गरी चिट चोर्दै गरेका तीन जना परीक्षार्थी पक्राउ परेका छन्।
जिल्लाको गोडैता नगरपालिका–५ रामवनस्थित श्री जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रमा शुक्रबार बिहान करिब ८ः४० बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
पक्राउ पर्नेमा बलरा नगरपालिका–८ गडहिया डुमरियास्थित श्री नमुना माध्यमिक विद्यालयका पृतम यादव र आलोक यादव तथा गोडैता–५ रामवनस्थित श्री नारायण हरि माध्यमिक विद्यालयका सुमित यादव रहेका छन्।
परीक्षा हलमै मोबाइल प्रयोग गरी प्रश्नपत्र बाहिर पठाउने र उत्तर प्राप्त गर्ने प्रयास भइरहेको देखिएपछि केन्द्राध्यक्षले उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए। प्रारम्भिक अनुसन्धानमा उनीहरूले वाट्सएप ग्रुप बनाएर चिट आदान–प्रदान गरेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय बरहथवामा राखेर थप अनुसन्धान भइरहेको छ। मर्यादाविपरीत गतिविधिमा संलग्न तीनै जनाको शुक्रबार भएको अनिवार्य नेपाली विषयको परीक्षा रद्द गरिएको छ।
यसअघि पनि जिल्लाको कविलासी नगरपालिका–२ स्थित परीक्षा केन्द्र बाहिरबाट प्रश्नपत्र आउट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरिसकेको जनाएको छ।

